सदरमुकाम बेनीको कालिपुल बसपार्कमा म्याग्दी उद्योग वाणिज्य संघले भगवान शिवजीको स्वरुप झल्कने स्वर्ण स्तम्भको शिलन्यास गरेको छ ।

म्याग्दी उद्योग वाणिज्य संघले स्थापनाको स्वर्ण जयन्ती (५०औँ वर्षगाँठ) को अवसरमा भगवान शिवजीको स्वरुप झल्कने स्वर्ण स्तम्भको बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले शिलन्यास गर्नुभएको छ ।

सदरमुकाम बेनीमा प्रवेश गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषित गर्ने गरी कुल ३ लाख ५२ हजार लागतमा करिब ७ फिट अग्लो स्तम्भ बन्ने संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताउनुभयो ।

‘स्तम्भसँगै नजिकै रहेको सूचना केन्द्रबाट समेत म्याग्दीलाई चिनाउन सहज हुन्छ,‘एकबर्ष विविध कार्यक्रम गरी स्वर्ण जयन्ती मनाउँछौ’ अध्यक्ष कर्माचार्यले भन्नुभयो ।

देशका विभिन्न राजमार्गबाट म्याग्दी र मुस्ताङ घुम्न आउनेलाई स्मारकले आर्कषित गर्ने बताउँदै संघले विभिन्न संघसंस्थासँग सहकार्य गरी पर्यटनको क्षेत्रमा थप पूर्वाधार विस्तारमा समेत सक्रिय हुने संघले जनाएको छ ।

स्तम्भ शिलन्यास कार्यक्रममा संघका पूर्व अध्यक्ष जिवनकुमार विश्वकर्मा, बेनपा ७ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, वडा नं ८ का अध्यक्ष रामकृष्ण बराईली लगायतको उपस्थिती रहेको थियो ।

निजी क्षेत्रको सृजनात्मक भूमिका बढाएर व्यवसायीक हकहित र अधिकारका लागि बि.स २०२७ साल साउन १७ गते स्वर्गिय चन्द्रशेखर श्रेष्ठको अध्यक्षतामा स्थापना भएको संघले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरी स्वर्ण जयन्तीको अवसरमा बाढीपहिरो पीडितलाई राहत, बिरामीलाई फलफुल वितरण सहित विभिन्न कार्यक्रम गदैं आइरहेको संघका महासचिव लिलाराम गौतमले बताउनुभयो ।