चाडबाडको मुखैमा म्याग्दीमा छ्याप्छ्याप्ती म्याद गुज्रेका खाद्य सामाग्री भेटिन थालेका छन् । लामो समयसम्म कोरोनाको जोखिमले लकडाउनकै कारण बजारमा किनमेल समेत गर्न नपाएका सर्वसाधारण चाडपर्वका लागि आवश्यक पर्ने सामान किनमेल गर्न बजार झर्न थालेपनि म्याद सकिएका सामान समेत किनेर घर लैजान बाध्य छन्।

सदरमुकाम बेनीदेखि ग्रामिण क्षेत्रसम्मका पसलहरूमा म्याद नाघेका खाद्य सामग्री प्रयोग गर्ने उपभोक्ताको संख्या धेरै छ । अधिकांश क्षेत्रमा म्याद गुज्रेका र अखाद्य वस्तुको विक्रीवितरण रोक्नेतर्फ सरकार र सम्बन्धित निकायले कुनै पहल नगर्दै उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड भइरहेको छ ।

सदरमुकाम बेनीबजारमा समेत नियमित रुपमा बजार अनुगमन हुन सकेको छैन । म्याद नाघेका वा प्रयोग गर्न नमिल्ने खाद्य वस्तुहरू खुलेआम विक्रीवितरण गर्नेलाई जिम्मेवार निकायले कारबाही नगर्दा संविधानमा उल्लेख भएको खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐनले व्यवस्था गरेको अधिकारबाट समेत म्याग्दीका उपभोक्ताहरु वञ्चित भएका छन् ।

उपभोक्ताले आपूmले पसलबाट खरीद गरेको खाद्य सामग्रीको म्याद हेर्न नजान्ने, विक्रेताले पनि सामग्रीको म्यादबारे जानकारी नदिने र नियामक निकायले बजारको नियमित अनुगमन र कैफियत पाइएका पसललाई कारबाही नगरेकाले सर्वसाधारण उपभोक्ता मारमा परेका हुन् । म्याग्दीमा सरकारी निकाय हुने अनुगमन नाम मात्रैको जस्तै देखिन्छ ।

प्रदेश र संघीय अनुगमन टोली मुस्ताङ भ्रमणमा जान बजार अनुगमन गर्न आउने गरेका छन् ।जिल्लामा रहेका उपभोक्तासँग सरोकार राख्ने संघसंस्थाको भुमिका नै छैन् ।

विगतमा गरिएको अनुगमनमा म्याद गुज्रिएका सामान बिक्री गरिरहेका पसलबाट सामान नष्ट गर्र्ने र सात दिनभित्र दर्ता प्रक्रियामा आउन निर्देशन दिने गरिएपनि ब्यवहारमा कार्यान्वयन हुन सकेको छैन् । यस वर्ष यस्तो हुन नदिन चाडबाड आउनुभन्दा अगाडी नै देखिनुपर्ने अनुगमन बजारमा छैन् ।

एकलौटी मूल्यवृद्धि गर्ने, दैनिक उपभोग्य समग्री अभाव गराउने, अखाद्य वस्तु प्रयोग गरी मिठाइजन्य वस्तु निर्माण गर्ने, वासी र सडेगलेका मासु वेचविखन गर्ने, खान अयोग्य पानी बिक्री वितरण गर्नेजस्ता गतिविधिलाई नियन्त्रण गर्न निरन्तर अनुगमन आवश्यक छ।

संविधानको अनुसूची ८ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले दिएको अधिकार प्रयोग गरी सदरमुकाम बेनीसँगै जिल्लाका सबै सानाठूला ब्यापारीक केन्द्रमा स्थानीय जनप्रतिनिधिको समेत अगुवाईमा अनुगमनलाई तिब्रता दिनुपर्छ। विगतमा गरिएका सफल अनुगमनका अभ्यासहरुलाई निरन्तरता दिने सकेमा पनि बजार अनुगमन प्रभावकारी हुन्छ ।

राजनीतिक नेतृत्वको शक्तिमा रहने वा शक्तिमा रहेका व्यक्तिको आफन्त हुने र उसको प्रभावमा असल कामले निरन्तरता नपाउने गरेको देखिन्छ । बजार अनुगमनले निरन्तरता पाउनुपर्छ, अनुगमनका लागि दशैं–तिहार नै कुर्नुपर्ने होइन, बाह«ै महिना यस प्रकारको अनुगमन हुनुपर्छ । आशा गरौं, अव बजार अनुगमनले तिब्रता पाउने छ । बेनी साप्ताहिक पत्रिकाबाट