म्याग्दीको मंगला गाउँपालिकाले दुईवटा पर्यटकीयस्थलमा जाने पर्यटकीय पदमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण प्रक्रिया अघि बढाएको छ।

पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा परेको टोड्के र झाँक्रीपानीसम्म जाने पदमार्गको चालु आवबाटै काम गर्ने गरी डिपिआरको प्रक्रियालाई तिब्रता दिएको हो ।

कृषि, पर्यटन र पशुपालनलाई प्राथमिकता दिदैं आएको मंगलाले सिमलचौर, मिठौला, लाम छहरा, खानी गाउँ, पूर्णगाउँ हुदै टोड्केसम्म र अर्मनको पोक, गहते, नेटा हुदै झाँक्रीपानीसम्मको पदमार्गको डिपिआरको काम सुरु भएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो ।

‘अति आवश्यक पूर्वाधारमा पदमार्गलाई लिएका छौ,‘पदमार्गमा रमाउन चाहनेलाई सुन्दर गन्तब्य बन्न सक्छ’ रोकाले भन्नुभयो ।

डिपिआर निर्माणपछि पदमार्गमा विश्रामस्थल निर्माण, सार्वजनिक शौचालय निर्माण, थर्पु निर्माण लगायत काम हुने छ । टोड्के जोड्ने पदमार्ग १४.५ र झाँक्रीपानी जोड्ने पदमार्ग १० किमी रहेको छ ।

गाउँपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रको विकास र विस्तारसँगै स्थानीयको जिवनस्तर उकास्ने, अर्गानीक बस्तुको विक्री वितरण, सांस्कृतिक, धार्मिक क्षेत्रको प्रचारप्रसार समेत हुने गाउँपालिका उपाध्यक्ष सिर्जना केसीले बताउनुभयो । ‘आन्तरिक पर्यटकलाई भित्राउन न्यूनतम पूर्वाधार चाहिन्छ,‘झाँक्रीपानीमा भ्युटावर बनेकाले घुम्न जाने बढेका छन’ केसीले भन्नुभयो ।

पर्यटन मन्त्रालयबाट डिपिआर सहितको योजना माग भएकाले चालु आवमै बजेट विनियोजनको सम्भावना रहेकोे गाउँपालिकाले जनाएको छ । गाउँपालिका भित्रका अन्य पर्यटकीयस्थलको समेत डिपिआर सहितको योजना बनााएर आन्तरिक तथा प्रदेश र संघीय सरकारबाट समेत बजेट माग गर्ने योजना रहेको छ ।