हाम्रो घरबाट निस्केको फोहोर व्यवस्थापन गरेरै लाखौँको आम्दानी हुन्छ भन्दा अचम्म लाग्न सक्छ । तर त्यो यथार्थ हो । हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीबजारमा दैनिक रुपमा घर तथा होटलबाट निस्कने फोहोर संकलन तथा व्यवस्थापन गरेरै राम्रो आम्दानी हुने गरेको छ ।

बजारलाई स्वच्छ बनाउने कार्यमा लाग्दै गर्दा फोहोर व्यवस्थापनको जिम्मा लिने व्यक्तिले १० जनालाई रोजगारी दिनुका साथै सबै खर्च कटाएरै वार्षिक १० लाख रुपियाँभन्दा बढी आम्दानी गर्ने गरेका छन् ।

नेपालकै प्रसिद्ध तीर्थस्थल गलेश्वरधामभन्दा ठीक पारी रघुगङ्गा गाउँपालिका–३, राखुपिप्लेका यामबहादुर दमाईले सदरमुकाम बेनीबजारको फोहोर सङ्कलन र व्यवस्थापनबाटै वार्षिक १० लाख रुपियाँ आम्दानी गर्ने गर्नुभएको छ ।

वि.सं. २०३६ साल मङ्सिर १२ गते रघुगङ्गाको पिप्लेमा जन्मनुभएका यामबहादुर बाबुआमासँगै सानै उमेरमा बसाइँ सरेर पोखरा जानुभएको थियो ।

बाबुआमाले तत्कालीन पोखरा उपमहानगरपालिकाको फोहोर व्यवस्थापनमा जागिर गर्न थालेपछि उहाँ पनि सँगै सोही पेसामा १२ वर्षसम्म करारको जागिरेको रुपमा काम गर्नुभयो ।

सुन्दर र सफा पोखरा बनाउने अभियानमा बाबुआमासँगै खट्नुभएका यामबहादुरले २०६० सालपछि भने उक्त जागिर छाडेर आफैँले छुट्टै तरिकाले फोहोर व्यवस्थापनको काम थाल्नुभयो ।

‘फोहोर व्यवस्थापन नै नशामा हिँड्न थाल्यो ।’ याम भन्नुहुन्छ । त्यही नशाले यामबहादुरले कम्पनी दर्ता गरेर पोखराको फोहोर व्यवस्थापनको काम सुरु गर्नुभएको थियो । २०७० सालमा मिसन फर वेस्ट म्यानेजमेन्ट प्रा.लि. नाममा संस्था दर्ता गरी सोही कम्पनीमार्फत पोखरा तथा अन्य जिल्लाको पनि फोहोर व्यवस्थापनको काम दमाईले थाल्नुभयो ।

दमाईले बेनी नगरपालिकासँग सम्झौता गरे फोहोर व्यवस्थापन थालेको यो तेस्रो आर्थिक वर्ष हो । राज्यले गर्ने कार्यक्रम तीन खम्बे अर्थनीति भने जस्तै मोडल मिल्ने गरी नगरपालिका–जनता–कम्पनी मोडलमा बेनी नगरपालिकामा अहिले फोहोर व्यवस्थापनको काम भइरहेको छ ।

बेनी र आसपासका क्षेत्रको फोहोरलाई आधुनिक प्रविधिबाट व्यवस्थित गरेर पुनः प्रयोग गर्ने तथा नष्ट गर्ने कार्य गर्ने गरिएको यामबहादुरले बताउनुभयो । हाल बेनी नगरपालिका क्षेत्रको फोहोर व्यवस्थापनका लागि दैनिक १० जना कर्मचारीसहित दुईवटा गाडी परिचालन हुने गरेका छन् ।

नगरपालिकाले बजार क्षेत्रमा फोहोर व्यवस्थापनको शुल्क उठाएर ४० प्रतिशत राख्ने र मिसन फर वेस्ट म्यानेजमेन्ट प्रालिलाई ६० प्रतिशत रकम उपलब्ध गराउँदै आएको छ । उक्त रकमबाटै गाडी तथा कर्मचारीको खर्च कटाएर पनि गत आर्थिक वर्ष २०७६÷७७ मा करिब १० लाख रुपैयाँ आम्दानी गरेको यामबहादुरको भनाइ छ ।

प्राकृतिक सुन्दरतालाई कुनै पनि क्षति नपुग्ने गरी बेनीमा फोहोर व्यवस्थापनको काम भइरहेको नगरपालिकाले जनाएको छ । बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बजारमा निस्कने फोहोरलाई पुनः प्रयोग गर्ने गरी छुट्याएर व्यवस्थित रुपमा फोहोर व्यवस्थापनको काम भइरहेको बताउनुभयो।

नगरपालिका र कम्पनीका बीचमा भएको सम्झौताअनुरुप सङ्कलित फोहोरलाई जलाउन, गाड्न तथा नदीमा फ्याँक्न पाइँदैन । अहिलेसम्म सम्झौताअनुसार नै काम भइरहेको हुँदा फोहोर व्यवस्थापनमा सहज भएको जनाइएको छ ।

‘बजार क्षेत्रमा निस्कने सबै प्रकारका फोहोरलाई एकद्वार प्रणालीमार्फत व्यवस्थापन गर्ने हो भने फोहोर व्यवस्थापनको जिम्मा लिने कम्पनी वा संस्थाले दैनिक १० हजार रुपियाँसम्म कमाउन सक्छ ।’ यामबहादुर भन्नुहुन्छ ।तीन जना छोराछोरीलाई राम्रो स्कुलमा पढाएर एक छोरीको विवाह गरी सक्नुभएका उहाँले दुई सन्तानलाई बोर्डिङमा पढाउँदै आउनुभएको छ । gorkhapatraonline.com

Leave a Reply