तीन दशकदेखि नियमित भेडाच्याङ्ग्राको ब्यापार गदैं आएका काठमाडौंका मेखबहादुर नेपाल यसपटक मुस्ताङबाट रित्तै फर्किदै छन्।

कोरोना भाइरसको जोखिम छिचोल्दै उपल्लो मुस्ताङसम्म पुगेका नेपालले मुस्ताङमै ३६ केजीको च्याङ्ग्रालाई ३० हजार रुपैयाँ घटीमा नपाएपछि लगानी नै डुब्ने जोखिमले रित्तै काठमाडौं फर्किन लागेका हुन्।

अघिल्लो बर्ष यातायात लगायतका खर्च कटाएर काठमाडौंको कालिमाटीमा बिक्री गर्ने मुल्य यसपटक मुस्ताङमै तिर्नुपरेपछि करिब ६ सय भेडाच्याङ्ग्रा खरिद गर्ने योजना बनाएर मुस्ताङ प्रवेश गरेका नेपालले बिचौलियाको चलखेलले किसान र उपभोक्ता मारमा परेको बताउँदै यस्तै अवस्था निरन्तर रहेमा एउटा च्याङ्ग्राको मुल्य ४० हजारसम्म पुग्ने बताए।

‘मुस्ताङमै छोइनसक्नु छ मुल्य, काठमाडौंसम्म पुर्याउँदा करिब २० प्रतिशत लगानी नै खेर जान्छ’ नेपालले भने। उनले कोरोनाको जोखिमसँगै उपभोक्ताले सस्तो मुल्यमा भेडाच्याङ्ग्राको खोजी गर्ने भएपनि नियमित ब्यापारी पुग्नु अगाडि नै नयाँ र केही स्थानीयले खरिद गरी मुल्य बढाएको बताए।

गतबर्ष २३ हजार मुल्यमा खरिद गरिएको च्याङ्ग्रालाई उपल्लो मुस्ताङमै ३० हजार मुल्य तोकिएपछि अधिकांस नियमित ब्यापारीहरू रित्तै फर्किएको अर्का ब्यापारी पशुपति सिलवालले बताए।

‘तिब्वतबाट भेडाच्याङ्ग्रा आएन्,‘डोल्पाबाट पनि निकै कम आयो’ सिलवालले भने। उनले झण्डै १ हजार भेडाच्याङ्गा खरिद गर्ने तयारीमा रहेका ब्यापारीले १ सय पनि ल्याउन नसकेको बताउँदै काठमाडौंमा मुस्किलले मुस्ताङका ४ सय च्याङ्ग्रा समेत पुर्यााउन मुस्किल रहेको बताए।

तीन दशक यता नियमित खरिद गदैं आएका सिलवालले यसपटकको आकाशिएको मुल्यले पेशा नै परिवर्तनसम्मको सोच बनेको बताए।

मुस्ताङी च्याङ्ग्राको जिउँदो प्रति केजी १ हजार रुपैयाँमा विक्री गर्दा समेत लगानी नउठ्ने ब्यापारीको भनाई छ। मुस्ताङमा करिब १० हजार, डोल्पाबाट ४ सयको हाराहारीमा च्याङ्ग्रा बाहिरिने अनुमान गरिएको छ।

यता भेटेनरी अस्पताल एवम् पशुसेवा विज्ञ केन्द्रका प्रमुख नारायण कुसुमले मुल्य नियन्त्रणमा कार्यालयले सचेत मात्रै गराउन सक्ने बताए। ‘कम संख्यामा भेडाच्याङ्ग्रा निकासी हुने भएकाले मुल्य बढेको छ,‘स्वास्थ्य परीक्षण गरी पठाउने गरेका छौ’ प्रमुख कुसुमले भने।

रोज्जा च्याङ्ग्राको मूल्य अन्तिम उपभोक्तासम्म पुग्दा ३८ हजारसम्म विक्री भएको पाइएपनि मुल्य नियन्त्रणमा हस्तक्षेप गर्न सरकारी निकाय असफल भएको छ। गतबर्ष मुस्ताङबाट २५ हजारको हाराहारीमा भेडाच्याङ्ग्रा निर्यात भएकोमा यसबर्ष करिब ४५ प्रतिशतले कमी हुने अनुमान गरिएको छ।

हिमाली हावापानी र चिसो वातावरणमा हुर्किएका भेडाच्याङ्ग्राको मासु स्वादिलो मानिन्छ। तिब्वत बाहेक उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका, लो घेकर दामोदरकुण्ड र वारगुङ मुक्ति क्षेत्र गाउँपालिका भेडाच्याङ्ग्राको पकेट क्षेत्र मानिन्छ।

माथिल्लो क्षेत्रमा भेडापालाक किसानको आर्कषण बढेपनि चरनक्षेत्र लगायतका समस्याले उत्पादनमा बृद्धि हुन सकेको छैन्। यसैबीच  भेडाच्याङ्ग्राको मुल्या आकाशिएपछि म्याग्दीको ग्रामिण क्षेत्रमा रहेका भेडाको खोजीमा ब्यापारी सक्रिय भएका छन्। जिल्लाको धवलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाको हिमाली क्षेत्रमा रहेका भेडाको चरन क्षेत्रमै विक्री सुरु भएको छ।