नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको दुग्ध विकास संस्थानमा १ लाख ९४ हजार ९ सय ७५ किलो बटर डेट एक्सपायर भेटिएको छ । संस्थानले प्रशोधन गरी घिउ तयार पार्न राखेको बटरको ‘डेट एक्सपायर’ भएको भेटिएको हो।

काठमाडौं महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले गरेको बजार अनुगमनका क्रममा दुग्ध विकास संस्थानको बालाजु गोदाममा घिउ तयार पार्न राखिएको बटर डेट एक्सपायर भएको फेला परेको समितिले जनाएको छ।

महानगरपालिका कृषि विभागका प्रमुख हरिबहादुर भण्डारीको नेतृत्वको अनुगमन टोलीले दुग्ध विकास संस्थाको बालाजु उत्पादन प्लान्टमा चार वटा गोदाममा रहेको बटर सबै डेट एक्सपायर भेटिएको बताएको छ ।

भण्डारीले संस्थानको गोदाममा भेटिएको डेट एक्सपायर बटरको नमुना परीक्षणका लागि ल्याएको जनाए । उनले भने, ‘दुग्ध विकास संस्थानले १ लाख ९४ हजार ९ सय ७५ किलो डेट एक्सापायर बटर पोखराको सुजल डेरीबाट खरिद गरेको पाइएको छ । बटरको प्याकेजिङमा उत्पादित मितिले आठ महिनाअघि नै उपभोग गरिसक्नुपर्ने उल्लेख छ ।’

तर, संस्थानको गोदाममा भएका अधिकांश प्याकेजिङ गरेका बटर डेट एक्सपायर नै छन् । सन् २०१९ को नोभेम्बर, डिसेम्बर र सन् २०२० को जनवरीमा निर्मित बटर संस्थानको गोदाममा भेटिएको हो । पोखराको सुजल डेरीबाट खरिद गरिएको बटरमा दुग्ध संस्थानकै प्रशासन समितिले पनि छानबिन गरिरहेको पाएको छ ।

उनले भने, ‘संस्थानले बटरको डेट एक्सपायरका बारेमा कुरा गरेको छैन । तर, संस्थानमा अधिकांश बटर डेट एक्सपायर नै छन् । हामीले अन्यभन्दा पनि दुग्ध संस्थानले उत्पादन गर्ने दुग्धजन्य वस्तु उपभोग छ छैन भनी केन्द्रित भइ अनुगमन गरेका हौं । हामी डेट एक्सपायरको विषयलाई नै लिएर कारबाहीका लागि सिफारिस गर्नेछौं ।’

संस्थानको प्रशासन समितिको सहमतिमा बिक्री रोक्का गरिएको छ । भण्डारीले मंगलबार दुग्ध विकास महाप्रबन्धक रुद्रप्रसाद पौडेलसँग भेट नभएको हुँदा बुधबार फेरि संस्थानमा जाने बताए । त्यसपछि छानबिन गरी कानुनी कारबाहीका लागि सिफारिस गर्ने बताए । आजको राजधानी दैनिकमा समाचार छ ।