पश्चिम म्याग्दीको दरबाङ-धारापानी सडक स्तरोन्नतीको कार्य सुरु भएको छ । मालिका गाउँपालिका-५ र ६ को सिमाना दरबाङको पक्की पुलदेखी धवलागिरी गाउँपालिका-७ धारापानी सम्म सडक विस्तार कार्यको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले शिलन्यास गर्नुभएको छ ।

जिल्लाकै दोस्रो ब्यापारीक केन्द्र दरबाङ हुदै छिमेकी धवलागिरी गाउँपालिकाको धारापानी सम्मको सडक विस्तार, स्तरोन्नतीले दुई गाउँपालिकाका जनतालाई सहज यात्राका साथै ब्यापारिक कारोबार समेत बढ्ने गाउँपालिका अध्यक्ष रोकाले बताउनुभयो । गण्डकी प्रदेशको पुर्वाधार विकास कार्यालयबाट गर्नसात किलोमिटर सडक १४ करोड रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको थियो ।

धुलिखेल ब्राइट कुँवर जेबी निर्माण कम्पनीले सडक स्तरोन्नतीको ठेक्का पाएको पुर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ । उक्त सडकखण्डको सात किलोमिटर सडक ग्राभेलका साथै ८ मिटर चौडा, ग्रेड मिलाउने, पक्की नाली, जोखिमपूर्ण स्थानमा ढलान, कटिङ समेत गरिने पुर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ ।

आगामी दुई बर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य रहेको छ । बेनी–दरबाङ सडक अस्तब्यस्त भइरहेको अवस्थामा दरबाङ–धारापानी सडकखण्डलाई समयमै सम्पन्न गर्न स्थानीयबासीले खवरदारी गर्ने बताएका छन् । शिलन्यास कार्यक्रममा दुवै गाउँपालिकाका जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि लगायत सरोकारवाला निकायको उपस्थिति रहेको थियो ।