दसैंको मुखमा स्याङ्जा प्रशासनले जिल्ला प्रवेशमा कडाइ गरेको छ।  स्याङ्जाका प्रमुख जिल्ला अधिकारी उमेश बस्नेतले जारी गरेको आदेशमा असोज १ गतेदेखि जिल्ला प्रवेशमा ७२ घण्टाको पिसिआर रिपोर्ट अनिवार्य चाहिने भनेको छ। पिसिआर रिपोर्ट दिन नसक्नेले क्वारेन्टिनमा बसेर मात्र घर जान पाउने छन् ।

जिल्लामा कोरोना भाइरसको महामारी फैलिन नदिन सर्वपक्षीय बैठक बसेर उक्त निर्णय गरेको सिडिओ बस्नेतले बताए। दसैं, तिहार लगायत नजिकिँदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै उक्त निर्णय गरेको आदेशमा उल्लेख छ। आदेशमा जो जहाँ छ, त्यहीँ बसेर चाडपर्व मनाउन आग्रह गरिएको छ।

जिल्ला प्रवेशमा कडाइ गर्ने निर्णय लागू गर्न सबै स्थानीय तह, जिल्ला समन्वय समिति, राजनीतिक दल, उद्योग वाणिज्य संघ लगायतलाई आग्रह गरेको छ। आदेशको अवज्ञा गर्नेलाई स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने चेतावनी समेत दिएको छ।

कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिएको भन्दै दसैं, तिहार, छठ जस्ता चाडपर्वमा नागरिक आवागमनलाई नियन्त्रण गर्न उक्त आदेश जारी गरेको स्याङ्जा प्रशासनले जनाएको छ। प्रशासनले आदेश जारी गरेपछि प्रहरीले स्याङ्जा छिर्ने नाकामा कडाइ गर्न थालेको छ। Source: setopati.com