म्याग्दीमा ६५ औँ प्रहरी दिवस मनाईएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै भौतिक दुरीलाई कायम गरि औपचारिकतामा दिवस मनाईएको हो ।

दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालयले विपद् र संकटका समयमा योगदान गर्ने व्यक्तिहरु र प्रहरी चौकीका लागि जग्गा दिने दाताहरुलाई सम्मान समेत गरेको छ ।

सो अवसरमा म्याग्दी जिल्लामा कार्यरत रही अपराध अनुसन्धान, रोकथाम, नियन्त्रण, शान्ति सुरक्षा,कोभिड रोकथाम तथा नियन्त्रण, विपद् उद्धार लगाएतका क्षेत्रमा उत्कृष्ट कार्य गर्ने ११ जना र गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट पुरुस्कृत हुने १ प्रहरी कर्मचारीलाई प्रमुख जिल्ला अधिकारी एवं प्रमुख अतिथि उमाकान्त अधिकारी मार्फत नगद सहित पुरुस्कृत गरिएको थियो ।

कार्यक्रममा प्रहरी चौकी मौवाँफाटलाई निशुल्क जग्गा दान गर्नुहुने मौवाफाँट निवासी तारानाथ शर्मा र बिर बहादुर बिक लाई नेपाल प्रहरीको तर्फबाट कदरपत्रले सम्मान गरिएको थियो ।

त्यस्तै, जिल्ला प्रहरी कार्यालय, म्याग्दीसँग समन्वय गर्दै कोभिड–१९ रोकथाम नियन्त्रण, विपद् उद्धारमा सहकार्य गर्ने नेपाल रेडक्रस सोसाईटी म्याग्दी शाखाका उप–मन्त्री सुरत केसी, निर्माण व्यवसायी संघ म्याग्दीका अध्यक्ष नारायण घर्ति क्षेत्री, मुस्ताङ जिल्ला थासाङ गाउँपालिका वडा नं २ कोवाङ घर भई बेनी–जोमसोम– कोरला सडक आयोजनाका सुपरभाइजर ईन्द्र सिंह सेरचन, स्वयमसेवक हरी कँडेल, नेपाल युथ काउन्सिल म्याग्दीलाई सम्मान गरिएको थियो ।

त्यसैगरि अलपत्र परेका ४ नेपाली आन्तरीक पर्यटकहरूको उद्धार कार्यमा योगदान पुयाएका नारच्यांग निवासी कृष्ण थजाली र सपीन पुर्जालाई कार्यक्रमको अवसरमा प्रमुख अतिथिबाट कदर पत्र प्रदान गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक किरण जंग कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी निरीक्षक डाक्टर प्रसाद चौधरीले स्वागत र प्रहरी निरीक्षक ध्रुव प्रसाद शर्माले संचालन गर्नुभएको थियो।

कार्यक्रमको अमर प्रहरी प्रति सालिकमा माल्यार्पण तथा सम्मान व्यक्त गरी बिर सहिदहरू प्रति उच्च सम्मान व्यक्त गरिएको थियो । कार्यक्रममा प्रजिअ अधिकारी, नेपाल पत्रकार महासंघ म्याग्दीका सचिब गोरखनाथ सुवेदी, पुर्व प्रहरी संगठन म्याग्दीका सदश्य साबित्री पुन मगरले मन्तव्य राख्नु भएको थियो ।

६५ औ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालयले रक्तदान, मन्दिर सरसफाई लगाएतका कार्यक्रम संचालन गरेको थियो, रक्तदान कार्यक्रममा म्याग्दी जिल्लामा कार्यरत १९ जना प्रहरी कर्मचारीले रक्तदान गरेका थिए ।

Leave a Reply