नेपालीहरुको महान चाड बडादशैं आजदेखि सुरु भएको छ । आजबाट नौ दिनसम्म नव दुर्गा भगवतिका शक्तिपिठहरुमा श्रद्धालुहरुको भीड हुने गर्दछ । तर विश्वभर फैलिएको कोभिड १९ संक्रमणको असर र यस बर्ष परेको छ । नवरात्रीको पहिलो दिन घटस्थापना पर्दछ ।

आज घरघरमा जमरा राखेर घटस्थापना गरिँदैछन। शास्त्रीय विधान अनुसार विधिवपूर्वक दशैं घर वा पूजा कोठामा कलश स्थापना गरि दुर्गा भवानीको आह्वान गर्ने गरिन्छ।

कलशलाई दुर्गा भगवतीको प्रतीकका रुपमा पूजा गरी नदीबाट ल्याएको पानी र बालुवामा धान, गहुँ, जौं आदि छरेर घटस्थापना गर्ने गरिन्छ।घटस्थापना गर्नु भनेको नवरात्रीको कालावधिमा ब्रह्माण्डमा कार्यरत शक्तितत्त्वको घटकलाई आवाहन गरि त्यसलाई कार्यरत गर्नु हो ।

जमरालाई देवी भगवतीको मनपर्ने फूलका रुपमा लिइन्छ। त्यसैले जमरा राखेको स्थानमा कलश स्थापना गरि अबको ९ दिन सम्म देवी दुर्गा भगवतीका विभिन्न ९ रुपको आराधना गर्ने गरिन्छ।

दशैंको पहिलो दिन आज शैलपुत्री देवीको पूजा गर्दै घटस्थापना गरिँदैछ। पर्वत राज हिमालयको पुत्रीका रुपमा जन्म लिएकीले उनको नाम शैलपुत्री रहन गएको शास्त्रमा वर्णन गरिएको छ। शैलपुत्रीको आराधना गर्नाले धन, सौभाग्य मोक्ष प्राप्त गर्नुका साथै रोग व्याधी र दीर्घ रोगबाट मुक्ती पाउने शास्त्रीय मान्यता रहेको छ।

नवरात्रभर दुर्गादेवीका नौ रुपको पूजा

घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । नवरात्रभर अधिष्ठात्री देवी दुर्गाका नौ रुपको पूजा गरिन्छ । नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।

बडादशैँको सातौँ दिन धार्मिक विधिअनुसार फुलपाती भित्राइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरुले दशैँ घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्दछन् ।

नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम स्तुतिको पाठ गरिन्छ । यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवम दर्शनार्थीको भीड लाग्ने भएपनि यसवर्ष भने कोभिड-१९ का कारण सबै शक्तिपिठह बन्द रहेका छन् ।

दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ । दुर्गा पूजा र दशैँ पर्व कुनै जात एवम् धर्म विशेषको भनी शास्त्रीय रुपमा प्रमाण छैन, यो मानव मात्रको कल्याणका पक्षमा काम गर्ने शक्तिको प्रतीकका रुपमा मनाइन्छ ।