नेपालमा अहिले चलनचल्तीमा रहेका धेरै सांस्कृतिक र धार्मिक प्रथाहरूको जरा खोज्दै जाने हो भने इरान–इराक वा आसपास पुग्ने गरेकाले जमराको चलन पनि उतैबाट आएको अनुमान गरिन्छ ।

युनिभर्सटी अफ अक्सफोर्डमा पूर्वीय धर्म र नीति अध्यापन गराउने प्राध्यापकका अनुसार दक्षिण एसियामा पश्चिमबाट पूर्वतर्फ सभ्यता सरेकाले जमरा पनि इरानबाट नेपाल आएको हुनसक्ने बताउँछन् ।

किनकी इरानी नयाँ वर्ष अर्थात् नौरोजका दिन जमरा पनि सजाउने चलन छ । बीबीसीका अनुसार कसैले नौरोज, कसैले नौरुज त कसैले नवरोज भन्ने उक्त पर्वमा नेपालको दशैँसँग मिल्ने मुख्य कुरा भनेको नै त्यसमा प्रयोग जमरा हो।

इरानीहरूले सब्जी सजाउन मात्र प्रयोग गर्छन्, नेपालीले जस्तो लगाउने गर्दैनन्। नौरोजलाई इरानी नयाँ वर्षका रूपमा चिनिए पनि यो त्यहाँ मात्र मनाइँदैन। नौरोजमा नेपालमा जस्तो बालुवा वा माटोमा जमरा राख्ने चलन छैन ।

युनेस्कोको आधिकारिक वेबसाइट र नौरोजबारे लेखिएका अन्य सन्दर्भ सामग्रीहरूमा जनाइए अनुसार नौरोज मनाउने तरिका पनि नेपालमा दशैँका बेला गरिने नवरात्री पूजासँग मिल्दोजुल्दो देखिएको छ।

नौरोजका लागि तयार पारिने सब्जी अर्थात् जमरा पनि नौ दिन राखेर नै तयार पार्ने चलन रहेको छ।

दशौँ दिन त्यसलाई एउटा टेबलमा सजाएर राखिन्छ। अनि आफन्तहरू कहाँ जाने र भोजभतेर गर्ने चलन हुन्छ।

त्यसअघि दशैँको टीका जस्तै हाफ्सिन टेबल अगाडि गएर आएका आफन्तका नाममा मैनबत्ती बाल्ने गरिन्छ।

दशैँ घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म १५ दिन चल्छ, तर नौरोज भने १३ दिनको हुने गरेको छ ।

उहिलेको भारतवर्षभित्र इरान पनि पर्ने भएकाले धेरै संस्कृतिहरू सनातन हिन्दुसँग मिल्ने दाबी गरिएको छ ।

तर अहिले राजनीतिक कारणले फरक देशहरू बनेको र ऋग्वेदिक धर्ममा धेरै परिवर्तन आएका कारण फरक देखिएको बताइन्छ ।

मुस्लिम धर्मको प्रभावसँगै धेरै कुराहरू हराए पनि पुरानो संस्कृतिका कतिपय कुराहरू अहिले पनि जीवित पाइएको हो ।

संस्कृतिविद् जगमान गुरूङ चाहिँ इरानतिर बाटै जमरा नेपाल आइपुगेको हो भनिहाल्न नसकिने बताउँछन्।बीबीसी