नेपाल बैंक लिमिटेड म्याग्दी शाखाका कर्मचारीले परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई आर्थिक सहयोग गरेका छन् । जिल्लामा आर्थिक विपन्नताका कारण उपचारमा आर्थिक समस्या झेलेका सर्वसाधारणको उपचारमा आर्थिक सहयोग गदैं आइरहेको कोषलाई शाखा प्रबन्धक मोहन लामिछानले १५ हजार कोषका कोषाध्यक्ष बिनय श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको हो ।

सहयोग हस्तान्तरण कार्यक्रममा शाखाका विभिन्न विभागका प्रमुखहरुको समेत उपस्थिती रहेको थियो । कोषले म्याग्दी जिल्लामा आर्थिक अभावकै कारण उपचारमा समस्या देखिएका म्याग्देलीको उपचारलाई सहज बनाउने काम गरेकोमा सानो सहयोग गरेको शाखा प्रबन्धक लामिछानले बताउनुभयो ।

‘गरिबीकै कारण उपचारमा आर्थिक समस्या भएर मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गरेकोमा धेरै खुसी छौ,‘भविस्यमा पनि सकेको सहयोग गछौं’ लामिछानेले भन्नुभयो । १ करोड ५० लाखको अक्षय कोष स्थापना गरी त्यसबाट नियमित सहयोग गर्न सहज हुने कोषका अध्यक्ष अध्यक्ष राजेश शाक्यले बताउनुभयो ।

बेनी नगरपालिका–४ की ओमकुमारी शान्ती पुन हाईपोपलास्टिक एनिमिया रोगबाट पीडित भएपछि उपचारमा सहयोग जुटाउन सुरू भएको अभियानको क्रममा निधन भएपछि ओमकुमारीको नाममा स्थापना गरिएको कोषले आर्थिक अभावका कारण उपचारबाट बन्चित भएका म्याग्देलीको उपचारमा आर्थिक जुटाइरहेको छ । प्रतिब्यक्ति १० हजार देखी ३० लाखसम्म कोषमार्फत उपचारमा सहयोग जुटेको छ ।