म्याग्दीको मालिका गाउँपालिका-२,रुमका दुई सामुदायिक विद्यालयका विद्यार्थीलाई आवश्यक पर्ने ६ सय थान कपडाको मास्क बेनीको न्यूरोडमा रहेको रेनु बस्त्रालय तथा फेन्सी स्टोर्समा दुई दिनमै तयार भयो। निकै आर्कषक डिजाईन र प्रयोग गर्न समेत सजिलो मास्कको ग्रामिण क्षेत्रबाट माग आउन थालेपछि गुणस्तरीय र टिकाउ हुने गरी मास्क बनाउन प्रशिक्षण समेत दिइयो। फेन्सी स्टोर्समा कार्यरत कर्मचारीले अर्डर अनुसारको मास्क बनाउने गरेका छन्। ‘कोरोनाको संक्रमण फैलिएपछि धेरै मास्क उत्पादन गरेर विक्री गर्यो,‘पछिल्लो समय बजारभन्दा गाउँबाट धेरै माग आउँछ’ सञ्चालक रेनु मल्लले भनिन् । उनले न्यूनतम ५० देखि १ हजारसम्म मास्क उत्पादन गर्ने गरेको बताइन् ।

‘हामीले बनाएको मास्क प्रयोग गरेका पुनः फर्किएर आउनुभएको छ,‘धेरैसमयसम्म प्रयोग गर्न मिल्ने गरी बनाउने गरेका छौ’ मल्लले भनिन् । कोरोनाको जोखिमसँगै लकडाउन भएपछि बजारमा सर्जिकल मास्कको अभाव हुदाँ बजारबासीले समेत कपडाको मास्क लगाउने गरेको अवस्थामा पछिल्लो समय सर्जिकल मास्कको खपत हुन थालेपछि कपडाको ब्यापार ग्रामिण क्षेत्रमा केन्द्रित हुने गरेको छ। सर्जिकल मास्क पाउन मुस्किल हुने भएकाले कपडाको मास्क लगाउन सकिने चिकित्सकको सुझाव अनुसार लगाउने गरेको सर्वसाधारणको भनाई छ ।प्रति गोटा मास्कलाई गुणस्तर हेरेर २५ देखि ३५ रुपैयाँसम्म लिने गरिन्छ ।

पटकपटक मास्क लगाउनुपर्ने भएकाले समेत नियमित सफा गरी प्रयोग गर्न कपडाको मास्क सजिलो हुने प्रयोगकर्ताको भनाई छ । कपडाको मास्क बनाउँदा समेत जनस्वास्थ्यको मापदण्ड अनुसार खुकुलो हुन नदिने, बोल्न लाग्दा सजिलो हुनुपर्ने र कपडाको तीन तहबाट बनेको मास्क सही तरिकाले उपयोग गर्दा अधिकतम सुरक्षित हुन सकिने चिकित्सकको भनाई छ।