बेनी नगरपालिकाले जनप्रतिनिधिको खातामा १० लाख दशैंभत्ता पठाएको छ । कोरोनाको जोखिमले अर्थतन्त्र तहसनहस भइरहेको अवस्थामा म्याग्दीमा जनप्रतिनिधिको सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन अनुसार मेयर, उपमेयर, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्यलाई ऐनमा तोके अनुसारको सुविधा खातामा पठाएको हो ।

मेयर, उपमेयर,२५ र २५ हजार, वडा अध्यक्ष २० हजार, कार्यपालिका सदस्यले १८ हजार र नगरसभा सदस्यले १५ हजारका दरले दशैंको भत्ता पठाइएको प्रमुख प्रशासकीय अधिकृत छविलाल सुबेदीले बताउनुभयो ।

‘नियम अनुसार पठाइएको छ,‘सबैले फिर्ता गरेर कोरोना कोषमा जम्मा गर्ने बताउनुभएको छ’ सुबेदीले भन्नुभयो । जनप्रतिनिधिको सेवासुविधा सम्बन्धि ऐनमा मासिक सुविधा बाहेक चाडपर्व खर्च समेत पठाउने उल्लेख भएकाले प्राप्त सुविधालाई खातामा जम्मा गरिएको जनाएको छ ।

यता कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्माले समेत दशैंभत्ता नलिने सामाजिक सञ्जालबाटै घोषणा गर्नुभएको छ । नगरपालिकाले सबै दशैंभत्ता फिर्ता गर्ने गरी आवश्यक प्रक्रिया मिलाउन मेयर हरिकुमार श्रेष्ठले समेत प्रमुख प्रशासकीय अधिकृत सुबेदीलाई निर्देशन समेत दिइसकेको बताइएको छ । मेयर श्रेष्ठले मासिक सुविधा सहित भत्तालाई सुरुवातदेखि नै गरिमा विकास बैंकमा खाता खोलेर जम्मा गर्नुभएको छ ।