दशैंको मुखमा म्याग्दीको सदरमुकाम बेनीमा खुद्रा नोटको अभाव भएको छ । राष्ट्र बैैकले सर्वसाधारणलाई लक्षित गरी हरेक बर्ष नयाँ नोट वितरण गर्ने गरेको भएपनि यसबर्ष कोरोना भाइरसका कारण नयाँ नोट बजारमा नआएसँगै पूरानो खुद्रा नोटको समेत चरम अभाव भएको हो ।

हिन्दु नेपालीको प्रमुख पर्व दसैंलाई लक्षित गरी म्याग्दीका बैंक तथा वित्तिय संस्थामा खुद्रा नोटको अभाव देखिएपछि सेवाग्राही रित्तै फर्किन थालेको वित्तिय संस्थाका प्रतिनिधिले जनाएको छ ।

यसबर्ष कोरोनाको जोखिमले चाडपर्वमा किनमेल गर्न बजार झर्ने सर्वसाधारणको कम भएपनि खुद्रा पैसाको माग अनुसार उपलब्ध गराउन समस्या भएको नेपाल बैंक म्याग्दी शाखाका प्रवन्धक मोहनप्रसाद लामिछाने बताउनुभयो ।
‘हामीसँग भएका केही खुद्रा नोट उपलब्ध गराएका छौ,‘यसबर्ष त सर्वसाधारणलाई वितरण गर्ने पैसा नै भएन’ प्रबन्धक लामिछानले भन्नुभयो ।

विगतका बर्षमा सर्वसाधारणलाई ८ हजार ५ सयको दरले नयाँ नोट वितरण गर्ने गरिएकोमा यसबर्ष घरायसी प्रयोजनका लागि २ हजारदेखि १० हजारसम्म पुरानो र केही नयाँ नोट वितरण गरिएको उनले बताए ।
नेपाल बैंकमा राष्ट्रबैंकको नोट कोष समेत रहेको छ ।

सदरमुकाम बेनीमा रहेका निजी तथा सरकारी वित्तिय संस्थाले विगतका बर्षको तुलनामा ८० प्रतिशतभन्दा कम नयाँ र खुद्रा पैसा कम भएको बताएका छन् । ५, १०, २०, ५०, १०० रुपैयाँको खुद्रा पैसाको धेरै माग रहेको गरिमा विकास बैंक बेनी शाखाका प्रवन्धक कमल प्रसाद ढुंगानाले बताउनुभयो । ‘दशै नजिकै अभाव सधै हुन्छ, यसपटक धेरै नै भयो’ ढुंगानाले भन्नुभयो ।

नयाँ सहित पटकपटक प्रयोग भइसकेका पुराना खुद्रा नोट समेत बेनीका केही ब्यापारीले छिमेकी जिल्ला बागलुङमा रहेका वित्तिय संस्थाबाट समेत मगाएका छन् । यसबर्ष पहिलोपटक प्रयोग हुने र सुकिला नोट सर्वसाधारणले देख्नै पाएनन् । विगतमा ३६५ दिन खुल्ने बैंक तथा वित्तिय संस्था यसबर्ष कोरोनाको जोखिमले बिहिबारसम्म मात्रै खुल्ने जनाइएको छ ।