नोटको सदुपयोग गर्न तथा पुजाआजामा नोट परिचालन नगर्न नेपाल बैंक म्याग्दी शाखाका प्रबन्धक मोहनप्रसाद लामिछाने अनुरोध गर्नुभएको छ । विगतका बर्षको तुलनामा कोरोनाको जोखिमले यसबर्ष चाडपर्वमा जनस्वास्थ्यको मापदण्ड पालनाको क्रममा दशैंको टिकामा अविर पार्ने, बली दिदाँ रगत,चन्दन, जुँवातास खेल्ने क्रममा खुम्चाउदाँ,पानी छ्याप्ने प्रचलनले गर्दा चाँडै बिग्रिने प्रबन्धक लामिछानेले बताउनुभयो ।

नोटको आयु घट्नुमा प्रयोगकर्ता नै प्रमुख जिम्मेबारी हुने प्रबन्धक लामिछानेको भनाई छ ।  कोरोना संक्रमणको जोखिम पैसाबाट पनि हुन्छ भन्ने अध्यायनले समेत देखाएको अवस्थामा नोटको कारोबार तथा प्रयोगमा समेत थप सावधानी अपनाउनुपर्ने उहाँको भनाई छ । ‘नोटको सुरक्षाका लागि चाडपर्वमा विषेश अनुरोध नै गछौं,‘नोटका आयू घट्नु नै राष्ट्रलाई थप आर्थिक भार पार्नु हो’ लामिछानेले भन्नुभयो ।

नेपाल राष्ट्र बैंकमार्फत हरेक बर्ष सटही गर्दै आएको नयाँ नोट यसबर्ष कोरोनाको जोखिमसँगै प्रयाप्त नआएकाले पनि पुरानै खुद्रा नोटलाई प्रयोग गर्नुपर्ने अवस्थामा थप सर्तकता अपनाउनुपर्नेमा वित्तिय संस्थाका प्रतिनिधिको जोड छ ।

नोटको जतन गर्ने उपायहरुः
* नोट राख्दा ‘मनी व्याग’ वा ‘पर्स’को प्रयोग गरी नोटको जतन गर्ने बानी बसालौं।
*नोटमा जथाभावी केरमेट नगरौं, नलेखौं।
*नोटलाई अबिर, अक्षता, माटो, धमिरा, मुसा, आगो, पानी इत्यादिबाट जोगाऔं।
*नोटलाई कच्याककुच्चुक नपारौं, पोको नपारौं र जमिनमा गाड्ने काम नगरौं।
*नोटको हिफाजत गर्ने कुरा आफूले पनि बुझौं र अरुलाई पनि बुझाऔं।
*पूजाआजा गर्दा अथवा कुनै काम गर्दा मैलिएका हातहरुले सकेसम्म नोट नछोऔं।