म्याग्दीको ग्रामीण भेगका किसानहरुलाई वर्षेबाली भित्र्याउने चटारो सुरु भएको छ । नेपालीहरुको महान् पर्व दसैँ, तिहार, छठलगायत चाडपर्वहरु नजिकिएसँगै यतिबेला ग्रामीण क्षेत्रमा लगाइएको वर्षेबाली अन्तर्गतको विभिन्न खाद्यान्न बालीहरु थन्क्याउने काम सुरु भएको हो ।

जिल्लाको माथिल्लो क्षेत्रमा वर्षे सिजनमा लगाइएको धान, कोदो, मकै, भटमासलगायत नगदे बाली भिœयाउन किसानहरुलाई भ्याइनभ्याई सुरु भएको जनाइएको छ ।

एक नगरपालिकासहित पाँचवटा गाउँपालिका रहेको म्याग्दीमा खासगरी माथिल्लो क्षेत्रमा खाद्यान्न बालीको उत्पादन भित्र्याउने चटारोमा किसानहरु लागिपरेका छन् । जिल्लाको पात्लेखेत, घतान, पुलाचौर, कुहुँ लगायतका स्थानमा वर्षेबाली भित्र्याउन थालिएको छ ।

वर्षेबालीअन्तर्गत खासगरी कृषकहरु धान र कोदो बाली भित्र्याउने तथा हिउँदे बाली गहुँ, जौ, उवा, तोरीलगायत लगाउने जस्ता काममा व्यस्त हुन थालेका छन् ।म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौर चिप्लेटीका किसान मिनबहादुर खत्रीले असारमा रोपेको धान पाकेपछि काट्ने र झाँट्ने काम सुरु भएको जानकारी दिए । उनका अनुसार चिप्लेटी गाउँको काउले, पयँपाट र चिप्लेटीमा धान काट्ने र उठाउने कामको भ्याइनभ्याई सुरु भएको बताएका छन् ।

यसपटक समयमै वर्षा भएका कारण धान उत्पादन बढ्ने हुँदा किसानहरु समेत उत्साहित बनेका छन् । गएको जेठ महिनादेखि नै पर्याप्त वर्षा परेका कारणले गर्दा समयमै रोपाइँ भएकाले धानको उत्पादन बढ्ने कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । म्याग्दी जिल्लाको कुल खेतीयोग्य जमिनमध्ये ३ हजार ८ सय ९८ हेक्टरको जमिनमा धान खेती हुँदै आएको छ ।