म्याग्दीको रघुगंगा गाउँपालिका-६ को विकट वस्तीमा केन्द्रीय प्रसारण लाइन विस्तार गर्न हेलिकप्टरमार्फत विद्युत् ट्रान्सफर्मर ढुवानी गरिएको छ।पाखापानीको रायखोर, मुलपानी र उल्लेरी गाउँका ९३ घरधुरीलाई लक्षित गरी सिम्रिक एयरको हेलिकप्टरले दुईपटक ७ सय ५० केजी तौलका ट्रान्सफर्मर ढुवानी गरेको हो । गाउँपालिका भित्रका सबै बस्तीहरूमा केन्द्रिय लाइन पुर्याउने लक्ष्य अनुसार सडक सञ्जालबाट ट्रान्सफरमर ढुवानीमा ठेकेदारले सम्भव नभएको बताएपछि गाउँपालिकामार्फत २ लाख ६१ हजार रूपैयाँमा ढुवानी गरिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले जानकारी दिनुभयो ।

बेनी-पाखापानी हुदै सडक सञ्जालबाट ढुवानीका लागि लामो समय कुर्नुपर्ने अवस्थामा हेलिकप्टरबाटै ढुवानी गरिएपछि ठेकेदारले समेत तिहार अगाडी बाँकी काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । ‘तीनवटै गाउँका जनताले तिहारमा विजुली पाउँछन्,‘बाँकी काम सम्पन्न गर्न प्राधिकरणसँग समन्वय भइरहेको छ’ गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले भन्नुभयो ।

अध्यक्ष भण्डारीले पालिका भित्रका सबै बस्तीमा सडक सञ्जाल सहित विद्युतीकरण, स्वास्थ्य, शिक्षा लगायतका आधारभुत आवश्यकतालाई प्राथमकिता दिएको बताउनुभयो।

प्राधिकरण बेनी वितरण केन्द्रले मिटर वितरण सहित विद्युतिकरण गर्न तार तान्ने, पोल गाड्ने कामका साथै घरघरमा वायरीङ समेत भइसकेको वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले बताउनुभयो । ट्रान्सफर्मर एउटा रायखोर र अर्को मुलपानीमा राखिने छ। । प्राधिकरणमार्फत बेनीको खुल्लामञ्चसम्म ल्याएर त्यहाँबाट हेलिकप्टरमा ढुवानी गरिएको थियो ।