तीन दिनको पैदल र मोटर यात्रा गरेर बैंक आइपुगेकी पातलीमाया चेपाङको जाबी (झोला) मा खानेकुरा सकिएको छ। मकवानपुरको राक्सिराङ गाउँपालिकाको केन्द्र चैनपुरस्थित बैंक अफ काठमाडौंनजिकै आयुर्वेद औषधालयको सिँढीमा दुई रात बिताएकी ७८ वर्षीया चेपाङले अझै वृद्धभत्ता पाउने टुंगो छैन।

राक्सिराङ गाउँपालिका–७ काँकडास्थित गाईबाङबाट चितवनको भण्डारा हुँदै, मकवानपुरको मनहरी बजारबाट वृद्धभत्ता लिन चैनपुर पुगेकी उनको न खानाको ठेगान छ, न बासको। तैपनि, उनी तीन दिनदेखि बैंक अफ काठमाडौंमा वृद्धभत्ता लिने प्रयासमा छिन्।

बुधबार मध्याह्न भेट्दा उनको आत्मबल कमजोर भइसकेको देखिन्थ्यो। नेपाली भाषा राम्ररी नबुझ्ने पातलीमायाले भनिन्, ‘यत्रो भीड छ, लाइनमा बस्न सक्दिनँ, भीडमा म भित्र छिर्न पनि सक्दिनँ। पैसा आयो भने दसैँ किनमेल गरेर घर जाने हजुर।’

छोराबुहारी र नाति÷नातिनीसहित १२ जनाको परिवारमा नगद आम्दानी स्रोत उनको भत्ता मात्रै हो। पातलीमायाको साथमा आएकी उनकी बुहारी सन्छरी चेपाङ पनि मातृभाषा मात्र बोल्न जान्छिन्। १२ हजार भत्ता लिएर घर पुग्दा बाटो खर्च मात्र करिब ४ हजार खर्च हुने पातलीमायाको गुनासो छ। उनीजस्तै गाउँका ९ जना वृद्धवृद्धा गाउँबाट भत्ता बुझ्न आएका छन्।

मध्याह्नको चर्को गर्मीमा लाइन बसेकी ६८ वर्षीया ठूलीमाया मोक्तान बेहोस भइन्। उनलाई बोकेर नजिकै रहेको स्वास्थ्य केन्द्र लगिदिने उनको सहयोगी कोही थिएनन्। सँगै रहेका वृद्धवृद्धाले रूखको छहारीमा लगेर आराम गराएको केही समयपछि उनको होस खुल्यो। ५ घण्टा लाइनमा बसेर बैंकको ढोकानजिक पुगेकी उनको होस खुल्दा लाइन मिचिसकेको थियो। अब त्यो भीडमा पौंठेजोरी खेल्ने उनीसँग साहस थिएन।

करिब पाँच सय वृद्धवृद्धा, अशक्त र एकल महिलाको भीडमा भौतिक दूरी त परको कुरा अधिकांशले मास्कसमेत लगाएका थिएनन्। बुधबार मध्याह्न सानुमाया चेपाङ चैनपुरस्थित बैंक अफ काठमाडौं शाखामा आइपुग्दा पाँच सय जना जतिको भीड थियो। चर्काे घाममा बैंक नजिकै शीतल छहारीमा टोलाउँदै गरेकी ६२ वर्षीया सानुमाया कसरी पैसा लिने भन्ने चिन्तामा थिइन्। ‘बिहान घरबाट हिँडेको यतिखेर आइपुग्यो, कसरी पैसा लिने, कहाँ बस्ने के खाने’, राक्सिराङ ४ खैराङस्थित कोखारीकी उनले भनिन्, ‘कतिखेर पालो आउने हो, आज यतै रात पर्लाजस्तो छ।’

भोको पेट घण्टौं लाइन बसेकाहरूको एउटै स्वर थियो, गाउँपालिका आएपछि हामीलाई दुःख भयो। यसअघि तत्कालीन गाविस सचिवहरूले घरघरमा गएर भत्ता वितरण गर्दै आएका थिए। तर, नगद वितरण गर्दा सम्बन्धित व्यक्तिको हातमा नपरेको गुनासो बढेको भन्दै सरकारले सम्बन्धित व्यक्ति बैंकमा पुगेपछि मात्र चेकमार्फत भत्ता दिने निर्णय गरेको थियो। त्यसपछि वृद्धवृद्धा, असहाय र एक महिला सबै बैंक धाउन बाध्य छन्। ‘पहिला नै सजिलो थियो, अहिले गाउँपालिका भएसी हामीले धेरै दुःख पायौं’, राक्सिराङ १ भाबरकी ७७ वर्षीय ठूलीमाया मोक्तानले भनिन्, ‘मर्ने बेलामा सरकारले दुःख दियो।’

साविक ४ गाविस राक्सिराङ, खैराङ, काँकडा र सरिखेतका करिब दुई हजार पाँच सय कमाउन सक्ने व्यक्ति कोरोना त्रासपछि घरमै बसेको गाउँपालिकाको अनुमान छ। ‘कमाउने मान्छे घरमै बसेपछि अरू स्रोत छैन, यही भत्ता आयो भने दसैं मान्ने आसमा आएको तर पैसा पाइएलाजस्तो छैन’, राक्सिराङ २ कुडुलेका रामबहादुर चेपाङले दुखेसो पोखे, ‘यसरी दुःख दिएर पैसा दिनुभन्दा नदिएकै राम्रो।’

गाउँपालिकाभित्र मात्र वृद्धभत्ता, एकल र अशक्त भत्ता पाउने एक हजार नौ सय जना रहेको बैंक अफ काठमाडौं चैनपुर शाखाले जनाएको छ। ‘पैसा चार दिनअघि मात्र आयो, गाउँभरि हल्ला भएपछि एकैपटक सबै जना आउनुभयो’, शाखा प्रमुख रवीन्द्र कालाखेतीले भने, ‘हामीले भीड व्यवस्थापन गर्नै सकेनौं।’

गाउँपालिकाले भने बैंकलाई गाउँगाउँमा गएर भत्ता वितरण गर्न प्रस्ताव गरे पनि सम्भव नभएपछि यस्तो समस्या आएको जनाएको छ। ‘अब हामीले अर्को पटकदेखि गाउँ–गाउँमा जान बैंकलाई निर्णय गराएका छौं, जान मानेन भने अर्को बैंक ल्याउने पहल गर्छौं’, गाउँपालिका अध्यक्ष राजकुमार मल्लले भने। अन्नपूर्ण पोस्टमा कृष्ण सारु मगरले खबर लेखेका छन् ।