गाउँघरमा दसैं तिहारजस्ता पर्वमा परम्परा देखि नै चलनचल्तीमा आएको चर्खे पिङ लोप हुँदै गएको छ । गाउँमा दशै पर्व शुरु हुनु एक महिना अघिदेखि चर्खे पिङ बनाउनेको निकै उत्साह हुन्थ्यो । अहिले भने परम्परागत चर्खे पिङ बनाउने र खेल्नेको उत्साह नहुदा संस्कृति नै हराउँदै गएको हो ।

झण्डै दुई दशक अघि गाउँ गाउँमा अनिवार्यजसो चर्खे पिङ बनाइने गरे पनि अहिले पिङको नाम मात्र लिनु परेको बुढापाका बताउँछन् । चारदेखि आठ जनासम्म बस्न मिल्ने खालको काठैकाठले बनेको यस पिङ खेल्दा निकै आनन्द लाग्ने गरेको रामपुरका मित्रलाल ढकाल बताउछन्

उनले आफुले जानेबुझेदेखि नै गाउँका साथीभाई जम्मा भएर जङ्गलमा काठ काटेर चर्खे पिङ बनाउँदा निकै रमाइलो भएको आफ्नो अनुभव सुनाउँदै अहिले भने गाउँघर कतैपनि देख्न पनि नपाएकोमा गुनासो गर्नुहुन्छ ।

चर्खे पिङ खर्चिलो र निर्माणका लागि धेरै जनशक्ति आवश्यक पर्ने हुँदा पनि अहिले यहाँबाट हट्दै गएको हो । एक पटकमा धेरै जनासम्म खेल्न सकिने र यस पिङ्को छुट्टै विशेषता रहेको रामबहादुर सोमैले बताउनुभयो । पहिले चर्खे पिङ नराखेसम्म गाउँघरमा दसैं पर्वको रौनक नै नहुने सोमै बताउछन् ।

कतिपय स्थानमा भने काठको अभावमा चर्खे पिङ राख्न छाडिएको स्थानीयवासीको भनाइ छ । हिजोआज वनमा काठ दाउरा काट्न नपाइने नियम लगाएपछि काठको अभावले गर्दा चर्खे पिङ राख्न छाडेको उनीहरुले बताए ।

पूर्वीपाल्पाका अर्चले, मित्याल, सहलकोट, झिरुवास, बाकामलाङ्ग, गल्धालगायतका स्थानमा टाढा टाढाबाट दसैंका बेला चर्खे पिङ खेल्न आउनेको घुइँचो रहने गर्थ्यो । पछिल्ला वर्षहरुमा यो पिङको चलन हट्दै गएको छ । यसवर्ष त झन् लिङ्गे पिङ नै निकै कम रहेको तथा गाउँघर नै सुनसान बनेको निस्दी गाउँपालिका–१ बाकामलाङ्गका स्थानीय चिन्तामणी पाण्डेयले बताए ।

गाउँघरमा चर्खे पिङ मात्र होइन लिङे पिङ पनि कमै मात्रामा देख्‍न पाइन्छ । केहीले जसोतसो संस्कृति जोगाउन फ्याट्टफुट्ट लिङे पिङ राख्ने गरेको पाइए पनि पहिले जस्तो गाउँघरमा पिङ राख्ने र खेल्नेको यस पटक भने रौनक छैन ।

युवा जनशक्ति विदेश पलायन हुनु, बाह्य संस्कृतिको प्रभाव गाउँघरमा पर्न थालेपछि यतिबेला दसैं पर्वले ढपक्कै छोए पनि गाउँघरमा पिङ राख्ने र खेल्नेको उत्साह देखिँदैन । अर्कोतर्फ कोरोनाको माहामारीले पिङ राख्ने र खेल्ने कार्यमा पनि स्थानीयको सहभागिता देखिँदैन ।

आजभोलिको युवापुस्ताको पनि पिङप्रति त्यति आकर्षण छैन । साना बच्चाका लागि बजारमा आएका प्लाष्टिकको डोरी बाँधेर घर घरमा पिङ राख्ने चलन भने बढ्न थालेको छ । तर बाबियो काटेर पिङ बाट्ने चलन पछिल्लो समय रामपुर क्षेत्रमा बिस्तरै कम हुँदै गएको छ ।

गाउँघरमा चनचल्तीमा आएको चर्खे पिङ, लिङ्गे पिङ र घुमाउने पिङ खेलेर मज्जा लिँदै आफन्त, साथीभाई भेटघाट हुने र शुभकामना आदानप्रदान गर्ने चलन रहेको थियो । कामको व्यस्तता, बाह्य संस्कृतिको प्रभाव, पिङप्रतिको मोह कम हुँदै जादा अहिले गाउँघरबाट परम्परागत हाम्रा चाडपर्व झल्किने खालका संस्कृति पनि लोप हुँदै गएको देखिएको छ । – रासस