नेवार समुदायमा मोहनी लगाउने दसैं

0

नेवार समुदायमा बडा दसैंको आफ्नै महत्व छ। हरेक पर्वलाई आफ्नै तरिकाले मनाउने यो समुदायले दसैंलाई मोहनी नखःको रूपमा मनाउँछ। मोहनी नखः भन्नुका पछाडी खारण छन्। संसारमा दानवीय शक्तिको सँधै वर्चश्व रहेको छ। यसले विनाश मात्र निम्त्याउँछ।

यस्तो नकारात्मक शक्तिलाई समाप्त पार्न देवताहरु असमर्थ थिए। अवस्था नाजुक बन्दै गएपछि असुरहरूलाई समाप्त पार्न देवताहरूले जुक्ति लगाउन थाले। प्रकृतिले नै महिला र पुरुष विपरित लिंगप्रति आकर्षित हुने बनाएको छ। देवताहरूले यसलाई प्रयोगमा ल्याउने सोचे। यसका लागि दुर्गा भवानी उपयुक्त पात्र थिइन्। संस्कृतिविद् हरिराम जोशीका अनुसार दानवराज महिषासुरको बध गर्न महामाया भगवती दुर्गाले १६ वर्षे किशोरीको रूप धारण गरिन्।

दुर्गा भवानीले किशोरी अर्थात कुमारीको रूप धारण गरेर महिषासुरलाई मोहित बनाइन्। कुमारीको आकर्षणमा परेको महिषासुरले विवाह गर्न बन्दध दुर्गा भवानीलाई बन्दी बनाए। तर दुर्गाले पहिले आफूलाई युद्धमा हराउनुपर्ने सर्त राखिन्। नियम अनुसार यस्तो कार्य गर्न महिषासुरले दुर्गा भवानीसँग युद्ध गर्न तयार भए। भवानी निकै शक्तिशाली भएकाले महिषासुरको बध भयो। संस्कृतिविद् जोशी भन्छन्, ‘कुमारीले असुरलाई मोहनी लगाएर बध गरेकाले नेपाल भाषामा दसैंलाई मोहनी नखः भनिन्छ।’

कुमारीले दानवराजहरूलाई मोहनी लगाएर संहार गरेका प्रसंग पहाडी क्षेत्रको दोहोरी परम्परासँग मेल खान्छ। नेपालका चाडपर्व पुस्तकमा लेखिएको छ, ‘दोहोरी गीतमा यदी केटाले जितेमा केटीलाई विवाह गरी घर लग्ने र यदि केटीले जितेमा केटालाई केटीको घरमा नोकर बनाउन लग्ने स्थिति थियो। यहि किसिमको परम्परा मोहनी नखःको पनि देखिन्छ।’

नेवारहरूले दसैंमा रातो टिका र जमरा मात्र लगाउँदैनन्। मोहनी सिन्ह (एक प्रकारको कालो टीका) पनि लगाउँछन्। यो टिका नै वास्तवमा मोहनी अर्थात दसैंको टिका हो। यसमा मोहनी लगाउने तान्त्रिक शक्ति समाहित भएको विश्वास गरिन्छ।

नेवारहरू घटस्थापनामा जमरा राख्नुलाई ‘नःलस्वाँ पियू’ भन्छन्। नःल भनेको भर्खरैको किशोरी र स्वाँ भनेको पुष्प हो। महिसाषुरको बध गर्न बुढी भगवतीले किशोरी रुप धारण गरेकीले नःलस्वाँलाई भगवतीको यौवनको प्रतिक मान्ने गरेको जोशीको पुस्तक ‘नेपालका चाडपर्व’मा उल्लेख छ। वास्तवमा दसैं वर्षमा चारपटक मनाउने गरिन्छ। प्राचीन समयमा चार ऋतुलाई मुख्य मानेर प्रत्येक ऋतुमा एक÷एकवटा दसैं मनाउने प्रचलन थियो।

देवी भागवतमा चारवटा दसैंबारे उलेख भएको पाइएबाट यस कुराको खुलाशा हुन्छ ती चार दसैंमध्ये वसन्तऋतुको दसैं चैत्र महिनामा पर्छ। यसलाई चैते दसैं भनिन्छ। गृष्मऋतुको दसैंचाहिँ असारमा मनाइन्छ। शरदऋतुको दसैं भने बडा दसैंको रुपमा धुमधामसँग मनाइन्छ। पौष–माघको शिशिर ऋतुमा पनि ‘दिशी’ पूजाको नाममा दसैं मनाइन्छ। नेवार समाजमा यो दसैं मान्ने प्रचलन अहिले पनि छ।

संस्कृतिविद् हरिराम जोशीका अनुसार संसारमा दुई शक्ति निकै महत्वपूर्ण छन्। एक दैविक शक्ति र अर्को दानवीय शक्ति। यी दुई शक्तिबीच आफूलाई सर्व श्रेष्ठ सावित गर्न सँधै संघर्ष हुँदै आएको छ। संस्कृतिविद जोशी भन्छन्, ‘मानवीय स्वभावमा यी दुई शक्तिको सँधै टकराव हुन्छ। दैविक गुणले जितेमा महान र दानव गुणले जितेमा मानिस खराब व्यक्ति बन्न पुग्छ।’

वर्षभरि मनाइने थुप्रै चाडपर्वमा मोहनी नखः नेवार समुदायको सबैभन्दा ठूलो चाड हो। मोहनी नखःका बेला अष्टमी, नवमी र दशमीका दिन मनाइने कुछी भ्वय (एक पाथी भोज), स्याक्वत्याक्व (काटमार गर्ने दिन) र चालँ (विजयादशमी) हो। अन्नपूर्ण पोष्ट दैनिकको आर्काइभबाट

Leave a Reply