चाडबाडको समयमा मानिसको आवतजावतमा भएको वृद्धिसँगै गाउँमा कोरोना संक्रमण पनि बढ्दै गएको छ । पछिल्लो एक साताको मात्रै तथ्यांक हेर्दा सक्रिय संक्रमितको संख्यामा वृद्धि बढेको छ ।

कोरोना चेक गर्नका लागि स्वाब दिएकामध्ये ८० प्रतिशतलाई कोरोना संक्रमण देखिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. निरञ्जन पन्तले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय दैलेखले सदरमुकाममा मात्रै प्रभावकारी परीक्षण गर्ने हो भने ४० देखि ५० प्रतिशतमा संक्रमण देखिन सक्ने आशंका गरेको छ । प्रशासनले अत्यावश्यक कामबाहेक कात्तिक १५ सम्मका लागि सबैखाले आवतजावत बन्द गरेको छ ।

११ वटा पालिकाका बजार केन्द्रहरू बन्द गरेको छ । मास्क नलगाएर सदरमुकाममा हिँडडुल गर्नेलाई पक्राउ गर्ने काम थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दसैँको अवसरमा दुई दिन बन्द भएको परीक्षण कार्य पुनः सुरु गरिएको छ । कोरोना परीक्षणको रकम तोकेपछि परीक्षण गर्नेहरू ह्वात्तै घटेका छन् ।  प्रशासनले समुदायमा कोरोना फैलिएको आशंका गरेको छ । सदरमुकाममा मात्रै एक सय ५० भन्दा बढी सक्रिय संक्रमित पुगेका छन् । कडा ज्वरो आउने, खोकी लाग्ने र सास फेर्न गाह्रो भएर अक्सिजन दिनुपर्ने अवस्थाका बिरामी बढ्दै गएको   डा. पन्तले बताए । Source: nayapatrikadaily.com/