आधुनिक मूर्तिकला कार्यशालामा कुँदिएका १५ मूर्ति प्रतिस्थापन

0

गलकोट नगरपालिका–५ टेउवामा भएको अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशालामा कुँदिएका १५ मूर्ति प्रतिस्थापन गरिएको छ । निर्माणाधीन खुला मूर्तिकला सङ्ग्रहालयमा मूर्तिको प्रतिस्थापन गरिएको हो ।
कोभिड–१९ को विषम स्थितिले गर्दा संरचना निर्माणमा ढिलाइ हुँदा मूर्ति संरक्षणमा चुनौती थपिएको थियो । अब भने मूर्ति स्थायी संरचनामा ठडिइसकेका छन् । त्यहाँ १५ वटै मूर्तिलाई अलग–अलग ठाउँमा प्रतिस्थापन गरिएको गलकोट कला प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानको आयोजनामा गत फागुन ५ देखि २१ गतेसम्म चलेको कार्यशालामा १० देशका १५ कलाकारले मूर्ति कुँदेका थिए ।
मूर्ति प्रतिस्थापनका लागि पहिल्यै काम थालिएको भएपनि दक्ष श्रमिक र प्राविधिकको अभावले ढिलो भएको प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर रानाले बताए ।
कार्यशालाका संयोजक एवं मूर्तिकार ओम खत्रीले मूर्तिको प्रतिस्थापन भइसकेकाले अब मूर्तिको शीर्षक दिने, विवरण राख्ने र साजसज्जाको काम बाँकी रहेको बताए ।
कार्यशालामा सहभागी मूर्तिकारको कला र व्यक्तित्व समेटेर पुस्तिका निकाल्ने, दाताको शिलालेख राख्नेलगायतका योजना पनि प्रतिष्ठानले अघि सारेको छ । विस्तारै स्थिति सामान्य हुँदै गएकाले अब भने कामले गति लिने जनाइएको छ ।
कार्यशालास्थललाई खुला मूर्तिकला सङ्ग्रहालयका रुपमा विकास गर्ने प्रतिष्ठानको लक्ष्य छ । त्यसको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर)समेत बनीसकेको छ । अध्यक्ष रानाले प्रवेशद्वार र टिकटकक्ष निर्माणको काम छिट्टै अघि बढाइने बताए

Leave a Reply