सरकारले शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुमा कोरोना संक्रमण भई गम्भीर अवस्थामा अस्पताल भर्ना हुनु पूर्व ५० हजार धरौटी राख्नुपर्ने निर्णय लागू गराएको छ ।

त्यस्तै कोरोना संक्रमण भई सामान्य देखि मध्यम अवस्थामा रहेका बिरामीहरुका लागि पनि उपचारका लागि भर्ना हुनुअघि अस्पतालमा राख्नुपर्ने धरौटी तोकिदिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालयले कोरोना संक्रमणपछि अस्पताल भर्ना हुन आउनेहरुका लागि भर्ना हुनुपूर्व तिर्नुपर्ने शुल्कको तालिका नै बनाएको हाे ।

जसमा भेन्टिलेटरमा राख्नुपर्ने अवस्थाका बिरामीहरुले ५० हजार रूपैयाँ अनिवार्य धरौटी बुझाउनु पर्नेछ । त्यसपछि ती संक्रमितले दैनिक १५ हजार रुपैयाँ तिर्नुपर्नेछ ।

त्यसैगरी भेन्टिलेटरबिनाको आइसियू र क्याबिन आइसोलेसनमा भर्ना गराउनु पर्ने अवस्थामा ३० हजार धरौटी बुझाउनुपर्नेछ । र, दैनिक त्यसको ७ हजार ५ सय तिर्नु पनेछ । त्यस्तैगरी संक्रमण पछि मध्यम अवस्थाका बिरामीहरूका उपचारका लागि २० हजार धरौटी बुझाउनुपर्नेछ ।

उनीहरुलाई ग्यास्ट्रो आइसोलेसनमा भर्ना हुन पउने छन् । उनीहरुले दैनिक ३५ सय रुपैयाँ तिर्नुपर्नेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गरिब, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त र एकल महिलालाई भने छुट दिइएको छ । तर उनीहरुले छुट पाउनका लागि आफू बसेको स्थानीय सरकारले दिने गरिब उल्लेखित प्रमाणपत्र तथा सिफारि ल्याउनु पर्नेछ । सो अवस्थामा संक्रमितले अवस्था हेरेर १० देखि शत प्रतिशतसम्म छुट पाउन सक्नेछन् ।

सरकारको यो निर्णय शुक्रबार बाट नै लागू गरिएको शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुले जनाएको छ ।