स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पतालहरुलाई धरौटी रकम नलिई कोरोना संक्रमितको उपचार गर्न निर्देशन दिएको छ ।

आइतबार (आज) नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले धरौटी रकम नलिईसंक्रमितको उपचार गर्न निर्देशन दिइएको बताउनु भएको हो । त्यस्तै, उहाँले धरौटी माग्ने सबै अस्पतालहरूलाई स्पष्टिकरण सोधिएको पनि जानकारी दिनुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘सरकारी अस्पतालहरु सबैलाई धरौटी नलिई कोभिड–१९ का विरामीहरुको उपचार गर्न निर्देशन दिइएको, धरौटी सम्बन्धी सूचना निकाल्ने सबैलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्पष्टिकरण सोधिएको जानकारी गराउन चाहन्छु ।’

यसका साथै सक्नेसँग शुल्क लिने र नसक्नेहरुको हकमा भने संक्रमितहरुको निःशुल्क उपचार गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय यथावत् रहेको पनि उहाँले जानकारी दिनुभयो ।

सुरूवातदेखि नै संक्रमितको निःशुल्क उपचार गर्दै आएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले समेत संक्रमितलाई उपचारअघि ५० हजार धरौटी रकम जम्मा गर्न भनेको छ ।