म्याग्दीका सामुदायिक विद्यालयले कोरोना भाइरस (कोभिड-१९) का कारण स्थगित परीक्षा लिन थालेका छन् । कोरोना रोकथाम सम्बन्धि जनस्वास्थ्यका मापदण्डको प्रयोग गरी बेनी नगरपालिका–५, पौलस्त्य माविमा आइतबारदेखि कक्षा ११ को वार्षिक परीक्षा सञ्चालन गरिएको छ ।

परीक्षा सञ्चालन गर्न शिक्षा विकास तथ समन्वय इकाई म्याग्दीले ८ बुँदे मापदण्ड लागु गरी परीक्षा सञ्चालन भइरहेको विद्यालयका शिक्षक देविप्रसाद शर्माले बताए ।‘लामो समयसम्म परीक्षा स्थगित हुदाँ विद्यार्थी अन्यौलमा थिए,‘अहिले विद्यार्थी निकै उत्साहित छन’ उनले भने ।

त्यस्तै पुलाचौरकै जनकल्याण माविमा समेत सोमबारदेखि कक्षा ११ को परीक्ष सुरु भएको छ । विद्यालयले परीक्षा सञ्चालनमा मास्क, सेनिटाईजर, एउटा बेन्चमा एक विद्यार्थीका साथै भौतिक दुरीलाई प्राथमिकता दिएका छन् । त्यस्तै ज्वरो, रुघाखोकीको समस्या भएका विद्यार्थी भएमा एउटा छुट्टै कोठामा समेत राखिने विद्यालयले जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्डद्वारा जारी कक्षा ११ को परीक्षा सन्चालन तथा प्रमाणीकरण कार्यविधि २०७७ अनुसार जिल्लाका सबै निजी तथा सामुदायिक विद्यालयले कक्षा ११ को परीक्षाको तयारीमा जुटेका छन् । कोरोनाको जोखिमसँगै घरमा रहेका विद्यार्थीलाई विद्यालयमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ । परीक्षामा मापदण्डको प्रयोग लगायतका विषयमा शिक्षा विकास समन्वय इकाई, स्थानीय तहको शिक्षा शाखाका साथै जनप्रतिनिधिले समेत अनुगमन गर्ने जनाइएको छ ।

Leave a Reply