पश्चिम म्याग्दीको मालिका गाउँपालिका-६ दरबाङको दुखुबेसीमा अवस्थित‘भाले बास्ने’ ताल आवश्यक प्रचारप्रसार र पूर्वाधारको कमीले ओझेलमा परेको छ । नेपालमा आर्कषक तालको सूचीमा पर्ने भएपनि तालको चर्चा कम हुने गरेको छ ।

जंगलमा रहेको आकर्षक झरनाको फेदीमा रहेको निलो ताल आसपासमा भाले बासेको आवाज सुनिने गरेको स्थानीय बुढापाकोको भनाई छ ।  तालको माथिल्लो भागमा रहेको मन्दिरमा बिहान भाले बास्ने समयमा पूजाआजा तथा दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ । धामीझाक्रीले तालमा स्नान गरेर मन्दिरमा आएर पुजाआजा गर्ने र आफ्नो शक्ती प्राप्तीका लागि साँडेले समेत बलि दिने गरेकाले पनि ताल आसपासमा देवताको शक्ती रहेको धार्मिक विश्वास रहेको वडा अध्यक्ष सन्तनाथ सुबेदीले बताए ।

‘तालको संरक्षणको योजना बनाइएको छ,‘यसबर्ष कोरोनाको कारण थप प्रगति हुन सकेको छैन’ सुबेदीले भने । उनले वडाभित्रको ओझेलमा परेको पर्यटकीयस्थल भएकाले ताल आसपासका क्षेत्रसम्म पुग्ने पक्की पदमार्ग, जंगल सफारीका साथै ताल नजिकैबाट मालिकाधुरीसम्म आवतजावत गर्न मिल्ने ब्यवस्थित गोरेटो बाटो बनाउने योजना रहेको बताए ।

‘पशुचौपाया लिएर त्यहाँ पुग्दा झरनाको फेदीमा निलो ताल तथा आसपासका क्षेत्रमा जंगली जनावर समेत भेटिन्छ,‘तालको महत्वका बारेमा जानकार बुढापाका गाउँमै हुनुहुन्छ’ सुबेदीले भने ।

धामीझाक्री र लामाले आफ्नो शक्तीलाई पुष्ठी गर्न मन्दिरमा पुगेर पुजाआजा गर्ने तथा शक्तीको परिक्षण गर्ने गरेको समेत स्थानीयको भनाई छ । पहाडबाट झर्ने आकर्षक झरनाको फेदीमा करिब २२ वर्गमिटर क्षेत्रफलमा फैलिएको तालसम्म पुग्न पदमार्ग समेत जिर्ण अवस्थामा रहेको स्थानीय बृद्ध नन्द प्रसाद रोकाले बताए ।

धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण ताललाई जोगाउन सरकारी निकायमा पहल गरिएपनि कुनैपनि सहयोग नभएपछि स्थानीयको प्रयासमा गरिएका कार्यहरुले समस्या भएको बताए । स्थानीयले भालेबास्ने ताल आसपासका क्षेत्रलाई देवताको पहाडको रुपमा समेत चिन्ने गरेका छन् ।

नियालोको साहारामा तालसम्म पुग्नेलाई फर्कने बाटोको अभावले समेत जोखिमपूर्ण यात्रा गरेपनि ताल आसपासमा पुग्नेले आनन्द महसुस गर्ने गर्दछन् । तालमा छिमेकी मंगला गाउँपालिका–२ खार्तुङखोला र दरुङ गाउँबाट समेत जान सकिन्छ ।

तालमा मालिका, मंगला गाउँपालिका भित्रका विद्यालयबाट शैक्षिम भ्रमण समेत लैजाने गरिएपनि कोरोना भाइरसका कारण गत चैत्र महिना यता आवतजावतमा रोक लगाइएको छ । ताल नजिकै रहेको मन्दिरमा स्थानीयले भाकल अनुसार पूजाआजा गर्ने गरेका छन् ।

भाले बास्ने तालको इतिहास

गाउँका ९ भाई लाहुरे मध्ये एक जनाले भरिया लिएर तालको अवलोकन गर्न गएको अवस्थामा ताल नजिक दरबार जस्तै घरमा रात विताएर विहान ढुंगामा सुतेको अवस्थामा भेटिएको किम्बदन्ती रहेको छ । प्राकृतिक सौन्दयले भरिएको ताल नजिक आफ्नो भाकल अनुसार पुजाआजा गर्न गएका लाहुरे र भरिया भागेर आएपछि तालको प्रचारप्रसार गरेकै आधारमा तालको नामाकारण गरिएको बताइन्छ । मन्दिर र ताल नजिक रहेका उखु र सुन्तला टिपेर लैजा नपाईने तर खान जति पनि पाईने भनाई समेत छ ।

मन्दिर आसपासका रहेका रुखको विरुवा लिएर छिमेकी हाल मंगला गाउँपालिका–५ अर्मनमा लगाइएको अवस्थामा भेटिएपछि करिव १ सय बर्ष अगाडीसम्म नियमित पुजाआजा सहित तालको संरक्षण गर्ने गरिएको स्थानीय बुढापाकाको भनाई छ । तालमा जाने मार्गमा म्याग्दी खोला जलविद्युत आयोजनाको काम भइरहेको अवस्थामा आयोजामार्फत समेत सहयोग मागेर पूर्वाधार विस्तार गर्ने स्थानीयको भनाई छ ।