मलेसियामा एउटा कम्पनीको मालिक, मासिक ५ लाखसम्मको कमाई र दैनिक महंगो सवारीसाधनका धनी हिमबहादुर छन्त्याल (देवान) ले करिब १२ बर्षसम्म मलेसिया र सिंगापुरमा विताए । प्रविधि र मल्टिमिडिया सम्बन्धि कम्पनीबाट मनग्य आम्दानी गरेका छन्त्यालले मलेसियाको कम्पनी र बिजनेस भिषा त्यागेर भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरी गाउँपालिका–५, मल्कवाङमा भेडापालनमा रमाइरहेका छन् । बिहान उठ्नेबित्तिकै कम्पनीका काममा ब्यस्त हुने छन्त्यालको दैनिकी मोडिएर हरियो बुकी भेडाबाख्राको बथानसँगै वित्ने गरेको छ । अग्लो डाँडामाथिको समथर टापुमा गोठ बनाइको छ ।

गोठबाट धवलागिरि हिमाल आँखै अगाडी उभ्यिए जस्तै देखिन्छ । गोठ वरिपरिको हरियो बुकी भेडाबाख्राको बथानले सेताम्मे छ । बिगत तीन बर्षदेखि भेडापालनमा होमिएका छन्त्यालले यसै गोठलाई सम्हालेर बसेका छन् । लामो वैदेशिक रोजगारिलाई त्यागेर स्वदेश फर्किएका छन्त्यालले शहरको सुखसयललाई त्यागेर आफ्नो पुर्खाहरुले पसिना बगाएको थलोमा फर्किएका जंगल र भिर पाखाहरुको परम्परागत गोठलाई पछ्याएका मात्रै छैनन् भेडापालनबाट समेत मनग्य कमाइरहेका छन् । विहान उठेपछि भेडाबाख्राको संख्या बुझ्ने, दुध दुहुने, खाना पकाएर खाने र चरण क्षेत्रमा भेडाबाख्रा लैजाने उनको नियमित दैनिकी हो । छन्त्यालका साथीहरु पाँचवटा भोटेकुकुर, दुईजना हेरालु छन् । हप्तादिनमै गोठ परिवर्तन गर्ने छन्त्यालले उच्च हिमाली क्षेत्रको बसाईले आफ्नो ठाउँको सुन्दरतालाई समेत नजिकबाट चिन्ने अवसर पाएका छन्। लेकको बुकी र पाखा पखेरामा भेडाबाख्रा चराईसकेपछि पुन : गोठमै फर्कने बाहेक उनको नयाँ दैनिकी छैन् । न फोन, न इन्टरनेट नत रेडियोको नै पहुँच छ । अनकन्टार जंगल र पहाडहरुमा उनले कठिन तर आफ्नै रहरको दैनिकी विताइरहेका छन्त्यालले भेडापालनमा करिब ६० लाखभन्दा बढी लगानी र लगानी अनुसार नै कमाई समेत गरिसकेका छन् । छन्त्यालको गोठमा अहिले झण्डै ५ सय बढी भेडाबाख्रा रहेका छन् । आफु बाहेक दुई जना हेरालु राखेका छन्त्यालले आफ्नो पुर्खाहरुले अंगालेको तर पछिल्लो पुस्ताले विर्सदै गएको भेडापालनलाई आफुले अंगाल्न पाउनुलाई अवसर र चुनौतिको रुपमा लिएको बताउँछन् । पछिल्लो समय यस क्षेत्रमा रहेका परम्परागत गोठहरु विस्तारै घट्दै गएको, युवाहरुको आकर्षण नबढेको र पुराना गोठहरु पनि विक्रि गर्ने प्रचलन बढेकाले भेडापालन व्यवसायलाई प्रवद्र्धन गर्नका लागि स्थानीय सरकार र सम्बद्ध निकायको ध्यान जान जरुरी रहेको उनको भनाई छ । यस क्षेत्रमा अहिले करिब ८ वटा भेडीगोठ रहेका छन । धवलागिरिको मल्कबाङ, मलम्पार, खिबाङ, मराङ र रघुगंगाको पात्लेखर्क, दुवाडी, रायखोर, पाखापानी, चिमखोला लगायतका व्यक्तिहरुको च्यामली चौर, आधार शिविर, ऋरु, चौराबन, नयाँवन, रिखार, ताङ्गे, भाङ्गे फाँट क्षेत्रमा भेडीगोठ रहेका छन् । धवलागिरिको मुदी र गुर्जामा समेत व्यवसायिक भेडापालन हुदै आएको छ । बेसीदेखि धवलागिरिको आधार शिविर सम्म नै भेडीगोठ सारिरहने प्रचलन रहेको छ । दशैंमा मात्रै करिब १४ लाखको भेडा विक्री गरेका छन्त्यालले बार्षिक ३ सयभन्दा बढी भेडा बिक्री गर्ने गरेका छन् । यूवापुस्तामा विदेश मोह ह्वात्तै बढेको अवस्थामा भेडापालनमा सक्रिय भएका पुर्खाको पेशामा नाम र दाम दुवै भएकोले दोब्बर बनाउने तयारीमा छन् ।