भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरी गाउँपालिका-५, मल्कवाङमा मोटरबाटो पुगेपछि ८५ वर्षीय पलप्रसाद छन्त्याल फुरुङ्ग भए ।

दिनरात भोक प्यासै सयौ किलोमिटर पैदल हिडेर चामल बोकेर नुन लिन बटौली सम्म पुगेका छन्त्यालको घर नजिकैबाट सवारी साधन गुड्ने भएपछि खुसीको सीमा रहेन् । पलप्रसाद जस्तै डाँडामाथिको अस्ताउँदो घाम भइसकेकी ८९ बर्षिया दुर्गादेवी छन्त्यालले बुढेशकालमा गाउँमा विकास देख्ने अवसर पाएको बताईन् । ७५ बर्षिय काले विकको घरको झ्यालबाट देखिने सडकमा मोटर गुड्न थालेपछि अधुरो काम पुरा गर्ने योजनामा छन् । घरमा मानसिक सन्तुलन गुमेकी ३८ बर्षिय छोरी गौरी विकलाई पैदलमार्गबाट उपचारका लागि पोखरासम्म लैजान नसक्ने अवस्थामा रहेका कामीले सडक सञ्जालमा गाउँ जोडिएपछि आर्थिक जुटाएर छोरीको उपचार गर्न लैजाने तयारीमा छन् ।

‘गाउँमै मोटरबाटो आयो,‘विगतका दिन सम्झदाँ सपना जस्तै लाग्छ,‘अब पैदल हिँडेर बजार जानुपर्ने अवस्थाको अन्त्य भएको छ’ कामीले भने । पश्चिम म्याग्दीको विकट बस्तीमध्यमा पर्ने मल्कवाङमा सडक सञ्जालमा जोडिएपछि सवारीसाधन र मोटरबाटो हेर्न एकदिनको पैदलयात्रा गरेर आसपासमा बस्तीसम्म पुग्नुपर्ने बाध्यताको अन्त्य भएपछि खुशियाली मनाएका छन् ।

गण्डकी प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालय, म्याग्दीले छिमेकी वडा मराङको बँेशीदेखि आरवाङ–हाङबाङ हँुदै मल्कवाङ जोड्ने सडक विस्तार गरेपछि स्थानीयले घरआगनबाटै मोटरमा चढेर गन्तब्यमा जाने थालेका छन्।

ट्र्याक खुलेपछि दैनिकजसो मोटरसाईकल, जीप, ट्याक्टरमा यात्रा गर्न थालेको वडा अध्यक्ष खड्ककुमारी छन्त्यालले बताईन् । ‘अब विकासका अन्य काम गर्न सजिलो हुन्छ,‘स्थानीय उत्पादनले सहजै बजार पाउँछ’ वडा अध्यक्ष छन्त्यालले भनिन् ।  उनले सडकले मल्कवाङ, मलम्पार, भेडिखाल्टाका साथै छिमेकी रघुगङ्गा गाउँपालिका–८, को कुइनेखानीका बासिन्दा प्रत्यक्ष लाभान्वित भएको छन्त्यालको भनाई छ ।

गाउँबाट सदरमुकाम बेनीसम्मको दुरी छोटिएको बताउँदै वडाभित्रका मुख्य बस्तीमा एकबर्षभित्र सहायक बाटो समेत विस्तार गरिने बताइन् । वडाले ३५ लाख बजेट विनियोजन गरी मलम्पारसम्म सहायक सडक विस्तारलाई समेत तिब्रता दिएको अध्यक्ष छन्त्यालको भनाई छ ।  खाद्यान्न ढुवानीका लागि गाउँमा रहेका घोडा र खच्चड समेत स्थानीयले बेच्न थालेको उनले बताए ।पूर्वाधार विकास कार्यालयले आर्थिक वर्ष २०७५÷७६ मा ८० लाख मल्कवाङका सिमानासम्म विस्तार भएको सडक गत आव २०७६÷७७ मा डेढ करोड बजेटमा ७२ लाख विनियोजन भएकोमा ४७ लाखको काम भएको छ भने बाँकी यसै आवमा सम्पन्न गरिने छ । त्यस्तै चालु आवमा १ करोड २५ लाख बजेट विनियोजन भएकोमा टेन्डरमार्फत ठेक्का लाग्न बाँकी छ।

भेडिखाल्टासम्म सडक पु¥याउने लक्ष्य रहेकाले यसबर्ष धवलागिरी र रघुगंगा गाउँपालिका सडक सञ्जालमा जोडिने पूर्वाधार कार्यालयले जनाएको छ । विनियोजित बजेटबाट ७० प्रतिशत स्तरउन्नती र ३० प्रतिशत नयाँ ट्याक खोल्न काम गरिने पूर्वाधार कार्यालय म्याग्दीका प्रमुख नवराज पौडेलले बताए ।

रिडरोडमा जोडिदैं मल्कवाङ
कुनै समय गाउँमा सडक एकादेशको कथा जस्तै लाग्ने मल्कबाङ निकट भविस्यमै छिमेकी रघुगंगा–८, कुईनेखानीको सडक सञ्जालमा जोडिदैं छ । करिब ५ किलोमिटर सडक निर्माणपछि मल्कवाङबासीलाई सदरमुकाम बेनीबजार आवतजावतमा थप सहज हुनेछ ।

कुईनेखानी हुदैं बेनी–ठाडाखानी सडक सञ्जालमा मल्कवाङ जोडिने छ । यसका लागि बेनी–अर्थुङे–पात्लेखेत हुदै झिँ र पाखापानीमा १ करोडको काम हुनेछ । त्यस्तै मराङ खोलामा पक्की पुल सहित अन्य संरचनामा समेत बजेट विनियोजन गरिएको पूर्वाधार कार्यालय म्याग्दीका प्रमुख पौडेलले बताए । उनका अनुसार पश्चिम र उत्तरी म्याग्दी जोड्ने गरी जिल्लाका ६ वटा स्थानीय तहमध्ये पाँचवटामा सहजै रुपमा उक्त सडक सञ्जालबाट आवतजावत गर्न सकिन्छ ।

छोटो रुटको प्रयोगलेस्थानीय उत्पादनको बजारीकरणमा सहज हुने बताए । मल्कवाङमा कृषि उपजका साथै पछिल्लो समय भेडापालनमा समेत आर्कषण थपिएको छ । सडक सञ्जालको विस्तारले बहुमुल्य यार्सागुन्बु, जटामसी, पाचऔले सहितका जडीबुटीको विक्रीका साथै गाउँ आसपासमा अलपत्र अवस्थामा रहेका तामाखानी पुनः सञ्चालन हुनेमा स्थानीय आसाबादी छन् ।