ठाडाखानीको तामाखानी संचालनमा ल्याउन स्थानीयको माग

0

देशमा राजनीतिक परिवर्तन भै घरदैलोमा नै स्थानीय सरकारको पहुँच पुगेपछि गाउँघरका जनताले आफ्ना गाउँका स्रोत साधन र सम्पदाहरुको प्रयोगगरी मनग्गे आम्दानी गर्न सकिने आशा गरेका थिए । तर,स्थानीय सरकार घरदैलोमा पुगेको तीन वर्ष वितिसक्दा पनि गाउँमा रहेका प्राकृतिक स्रोत साधनहरुको पहिचान,उत्खनन् र प्रयोगमा चासो नदेखाउँदा स्थानीय वासिन्दाहरु चिन्तित बनेका छन् ।

यस्तै अवस्था छ म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं ६ मा पर्ने ठाडाखानी गाउँको पनि । गाउँको शिरानमा पर्ने रुमले भिरमा रहेको विशाल तामाखानी बषौंदेखि अलपत्र अवस्थामा रहेको छ ।

आजभन्दा १०६ वर्षअघि विसं १९७१ सालमा बन्द भएको यहाँको विशाल तामाखानी संचालनमा अझैसम्म पनि स्थानीय र प्रदेश सरकारले कुनै चासो नदेखाएको स्थानीयले बताएका छन् । ठाडाखानीका स्थानीयवासी सुजन छन्त्यालले तामाखानी वषौंदेखि अलपत्र अवस्थामा रहँदा पनि स्थानीय सरकारले कुनै पहल नगरेको आरोप लगाए ।

उनले भने हामीले स्थानीय सरकारबाट धेरै आशा गरेका थियौं,तामाखानी संचालन,मालिकाको धुरीसम्म मोटरबाटोको पहुँच,केन्द्रिय लाइनको विजुली लगाएतका धेरै सुविधाहरु पाइन्छ कि भन्ने लागेको थियो” छन्त्यालले भने “तर तीन वर्ष वितिसक्दा पनि मालिकाको धुरीसम्म मोटरबाटो खन्नका लागि वडा कार्यालयले १० लाख रुपैयाँ विनियोजन गर्नुबाहेक अरु कामहरुको बारेमा कुनै पहल भएको छैन ।

ठाडाखानी छन्त्याल र विकहरुको मात्रै बसोबास रहेको बस्ती हो । यहाँ रहेका ७५ परिवार छन्त्याल र १० परिवार विकहरुका पुर्खाहरु १०६ वर्ष पहिला रुमले भीरको तामा खनेर विक्रि र अन्नसंग विनिमय गरी जीवनयापन गर्ने गर्दथे।

तर तत्कालिन सरकारले अत्यधिक भेजा (कर) लिन थालेपछि तामा खानी बन्द गरेर अन्य वैकल्पिक पेशा र बैदेशिक रोजगारीतर्फ लाग्नु परेको रघुगंगा गाउँपालिका ६ का वडासदस्य समेत रहनुभएको टेकजीत छन्त्यालले बताए । वडा सदस्य छन्त्यालले दिएको जानकारी अनुसार यहाँ अझैसम्म पनि ५ ओटा सुरुङहरु रहेका छन् । सुरुङको प्रवेशद्धारबाट दुई मिटर भित्र छिर्ने हो भने तामाका विशाल धाउहरु देख्न सकिन्छ ।

‘यहाँको तामाखानी वषौंदेखि बन्द अवस्थामा रहेको छ,तामाखानी संचालनका लागि यहाँका जनताले गाउँपालिका र सम्वन्धित सरोकारवालाहरुलाई आग्रह गरिरहेका छन्,तर सुनुवाई भएको छैन‘ वडा सदस्य छन्त्यालले भने ।
उनका अनुसार यहाँको तामाखानी संचालनमा आउने हो भने वार्षिक करोडौं रकम राजस्व आम्दानी हुनुका साथै स्थानीयले दीर्घकालीन रोजगारी पाउने थिए ।

यस विषयमा वडा कार्यालयले गाउँपालिकालाई पनि दवाव दिइरहेको रघुगंगा गाउँपालिका वडा नं ६ का वडाअध्यक्ष मनकुमार शेरपुजाले बताए । ‘हामीले गाउँपालिकाकालाई दबाब दिइरहेका छौं, यसकालागि सरकारबाट अनुमति लिनु पर्ने भएकोले समस्या भएको छ‘ वडाअध्यक्ष शेरपुजाले भने ‘पुरातात्विक विभागबाट विज्ञहरुको टोली मगाएर अनुसन्धान गर्ने योजनामा हामी छौं ।‘

Leave a Reply