म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका २७ वर्षीय गणेश पुर्जा गाउँमै मजदुरी गरी जीवनयापन गर्दै आएका छन्। बुधबार नारच्याङमा घर बनाउन आवश्यक पर्ने ढुंगा ढोकोमा हाल्दै गरेका पूर्जाको एकबर्ष अगाडीको दैनिकी निकै कष्टकर थियो ।

गएको बर्षको मंसिर ४ गते बेनीअनलाइनले मानसिक सन्तुलन गुमाएका पूर्जाको अवस्था र घर नजिकैको शौचालयमा भातको थाल र सुत्ने विस्ताराको समाचार लेख्दा भावुक भएका स्थानीय, आफन्त तथा विदेशमा रहेका नारच्याङबासीले चमत्कारी परिवर्तन देखेर उत्साहित भएका छन् ।

डेढबर्षदेखि शौचालयमा खानो र सुत्ने गरेका पूर्जालाई गत बर्षको मंसिर १२ गते म्याग्दीका समाजसेवी चन्द्रकुमार केसी र परोपकारी संस्था ओमकुमारी शान्ति कोषको पहलमा मानवसेवा आश्रम पोखराले उद्धार गरेपछि आश्रममा करिब ११ महिना विताएका पूर्जाको नियमित उपचार, रेखदेखले स्वस्थ्य भएर घर फर्किएका छन् ।

मानसिक सन्तुलन गुमाएका पूर्जाले आफन्तको सहयोगमा पकाएर ल्याएको खाना समेत राम्रो सँग नखाने, त्यही दिशापिसाव गर्ने र सुत्ने पुरानो दैनिकीलाई आश्रममै छोडेर नयाँ जीवन सुरु गरेको अन्नपूर्ण यूवा क्लव नारच्याङका अध्यक्ष श्याम पूर्जाले बताए ।

‘गणेशको दैनिकी पुरै परिवर्तन भएको छ,‘नियमित काम गर्न सक्ने भएका छन्,‘टोलाएर बस्ने यूवा अहिले मजदुरीमा सक्रिय छन्’ पूर्जाले भने। गाउँ फर्किएर पुरानै अवस्था हुने चिन्ता गरेका आफन्तले समेत मजदुरीमा संलग्न हुने थालेपछि निकै उत्साहित भएको पूर्जाले बताए । उनले एक महिना अगाडी फर्किएको अवस्थामा धेरै काम भन्दा पनि हौसला दिने काम गरिरहेको बताए ।

एकबर्ष अगाडी पुर्जा बस्ने, खाने र सुत्ने ठाउँ ।

मानसिक सन्तुलन गुमेकै कारण पूर्जाले लामो समयसम्म घरबाट सम्पर्कविहिन समेत भएका थिए ।बुबा रन बहादुर बैदेशिक रोजगारमा गएको बेला आमाले दोस्रो विवाह गरेपछि पूर्जाको मानसिक सन्तुलन गुमेको थियो ।बैदेशिक रोजगारमा बुबा गएपछि मामा घरमा बस्दै आएका पूर्जाको मानसिक सन्तुलन गुमेपछि उपचारका हरेक प्रयास असफल भएको भन्दै बुबा रनबहादुरले हार खाएका थिए ।

यता उद्धारमा सक्रिय समाजसेवी केसीले पूर्जाको अवस्थाका बारेमा समाचार प्रकाशित भएपछि मानवसेवा आश्रमले समेत चासो देखाएर उद्धार गरेको बताए । ‘एकैपटक म्याग्दीबाट चारजनाको उद्धार भएको थियो,‘मानवसेवा आश्रम खानेबस्ने ठाउँ मात्रै होईन्, बिरामीको उपचार केन्द्र पनि हो’ उनले भने । उपचारपछि निको भएर घर फर्किएका धेरै उदारणहरु रहेको बताए ।त्यस्तै मानव सेवा आश्रम पोखराका संयोजक होमनाथ तिमिल्सिनाले समाचारबाट प्राप्त हुने समस्यालाई समाधानमा सहज हुने बताए । उनले सञ्चारमाध्यम र आश्रम एक सिक्का दुई पाटा जस्तै भएको बताउँदै अलपत्र परेकाहरुको अवस्थामा बारेमा सञ्चारमाध्यमबाट जानकारी भएपछि उद्धारमा थप सजिलो हुने बताए ।

नारच्याङका पूर्जासँगै धौलागिरि गाउँपालिका–३ मुना फलियागाउँकी नौ वर्षीया सुमिना विक, अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका ५२ वर्षीया मतिकला गर्बुजालाई उद्धार गरिएको थियो । मानवसेवा आश्रमले म्याग्दीबाट धेरैको उद्धार गरेको छ । आश्रममा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले समेत बार्षिक बजेट विनियोजन गदैं आइरहेको छ ।

यो पनि पढ्नुहोस्: मानसिक सन्तुलन गुमेका पूर्जाको शौचालयमा बास