म्याग्दीको रघुगंगा गाउँपालिकाभित्र सञ्चालित जलविद्युत लगायतका आयोजनामा बाहिरी जिल्लाबाट कामदार ल्याउन रोक लगाइएको छ । रघुगंगा हाइड्रोमा कार्यरत मजदुरलाई कोरोना पुष्टी भएपछि कामदार ल्याउन कडाई गरिएको हो । प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले आयोजनाका मजदुरमा कोरोना पुष्टी भएपछि उच्च सतर्कता अपनाइएको बताए।

‘आयोजनामा बाहिरबाट कामदार ल्याउन रोक लगाइएको छ,‘आयोजनाभित्रकालाई समुदायमा समेत घुलमिनको वातावरण नबनाउन ठेकेदारलाई निर्देशन दिएका छौ’उनले भने। त्यस्तै बाहिरी जिल्लाबाट आउनेलाई १४ दिने होम क्वारेन्टाइनमा बस्न, कोरोनाको लक्षण देखिएमा सम्पर्क गर्न र स्बाब दिएपछि परिवार र समुदायबाट अलग्गै बस्न अनुरोध गरिएको प्रशासकीय अधिकृत सुबेदीको भनाई छ ।

सूचना

यसैबीच तिहारका अवसरमा खेलिँदै आएको देउसीभैलो खेल्न रोक लगाएको छ । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरी तिहारमा देउसीभैलो कार्यक्रम सञ्चालन नगर्न सबै वडाका जनप्रतिनिधिमार्फत सूचना जारी गरिएको छ ।

जिल्लामा अन्य पालिकाले अत्यावश्यकबाहेक सेवाहरु बन्द गरेपनि रघुगंगाले जनस्वास्थ्यको मापदण्डलाई पूर्णरुपमा कार्यान्वयनमा समेत जोड दिइएको छ । गाउँपालिकाले वडाका साथै यूवा क्लव, आमा समुहलाई समेत अभियानमा साथ दिन अपिल गरेको छ ।