आईतबार बिहान मुस्ताङका पत्रकार निरज थकाली ठिनी गाउँमा रहेको आफ्नो स्याउ बारीमा निस्किए । प्रायः प्रकृति र जीवजन्तुको पहिचान तथा संरक्षण रुचाउने उनी बारीमा रहेका किरा फट्याङ्ग्रा हेर्दै बारीको डिलमा बसिरहेका थिए।

संयोग छेवैको रुखमा उनले नयाँ प्रजातीको चरा देखे । खल्तीमा रहेको मोवाईल फोन हतार हतार निकालेर त्यो चराको भिडियो मोबाईलमा कैंद गरे । उनले भिडियो बनाउँदै गरेको देखेको चरा भने रोकिएन् । उनले भिडियो कैंद गर्न थालेको २१ सेकेण्डमै चरा उडेर देख्न नसक्ने ठाउँमा पुग्यो ।

नयाँ रुप भएकाले उनले चराको भिडियो बनाएको बताउँछन् । मोबाईलमा कैंद भएको भिडियो फर्केर हेर्दा उनलाई लाग्यो यो कुनै नयाँ प्रजातीको चरा हुनसक्छ । लाटोकोसेरो प्रजातीको यो चराको पहिचान गर्न उनी लागे । नभन्दै उनले कैंद गरेको चरा लाटोकोसेरोनै थियो ।

नेपालमा विरलै पाईने लम्काने लाटोकोसेरो उनले त्यो दिन देखे र खिचे सम्भवतः यो नै पहिलो पटक नेपालमा कैंद भएको भिडियो हो । उनले भिडियोलाई नेपालमा चरा तथा जनावरहरुको अध्ययन गरिरहेका नेपाली र विदेशी अध्यताहरुलाई समेत पठाए ।

‘राजु आचार्य मेरो दाई, चिनेजानेको उहाँलाई पहिचानका लागि पठाएँ’ प्रकृतिका साथहीहरु नामक संस्थाका निर्देश राजु आचार्यलाई लक्षित गर्दै थकाली भन्छन् ‘अहिलेसम्म लमकाने लाटोकोसेरोको भिडियो कैंद भएकै थिएन् भन्ने छ मैले खिचेँ, यो मेरो दाबी हो ।’

थकालीले पठाएको इमेलमा प्रतिक्रिया दिँदै लाटोकोसेरोको अनुसन्धान र संरक्षणमा लामो समयदेखी लागेका ‘प्रकृतिका साथीहरु’का निर्देशक राजु आचार्य भन्छन्– ‘यो प्रजाति हेर्न म पनि लालायित छु । चिन र भारतमा रहेको तर नेपालमा नभेटिनु आफैमा अनौठो थियो । पत्रकार एवं ठिनीका स्थानीय युवा ‘निरज थकालीले’ खिचेको भिडिओ आफैमा एउटा सफलता हो ।’

उनले इमेलमा लेखेका छन् ‘१९ औं शताब्दीमा काठमाडौँ उपत्यकामा सर ब्राईन हगसनले यसको नमुना अभिलेख गरेका थिए । नेपालमा एकाध अभिलेखबाहेक यो प्रजाति देख्नेहरु लगभग छैनन्भन्दा पनि हुन्छ । नेपालमा पाइने २३ प्रजातिका लाटोकोसेरोमध्ये यो पनि एक हो ।’

नेपाल, भारत, भुटान र पाकिस्तानमा पंक्षीहरुकै विषयमा अध्ययन गरिरहेका अध्यता सोम जिसीले नेपालमा लम्काने लाटोकोशेरोको भिडियो पहिलोपटक बनेको दाबी गरे । ‘म गलत छैन भने यो अभिलेख रहने दस्तावेज पहिलो हो’ जिसी भन्छन् ‘२६ वर्षदेखि पंक्षीहरुको अध्ययन र संरक्षणमा छु, मैले नेपालमै कैंद गरिएको फोटो वा भिडियो खोज्दा पाएको छैन् ।’

फिरन्ते प्रजातीको पंक्षी भएकाले यो लाटोकोसेरो नेपालमा घुम्दै आएको हुनसक्ने उनको भनाई छ । ‘प्रकृतिलाई जोगाई राख्न चक्र चल्नुपर्छ, किसानको साथी लाटोकोसेरोका अनेकौं प्रजाती देखिनु खुसीको कुरा हो ।’ संसारमा नौलो प्रजाती नभएपनि नेपालमा बासस्थानको अभावले नदेखिने पंक्षीहरु देखिनु खुसीको कुरा भएको उनले बताए ।

थकालीले अध्ययनको लागि पठाएको भिडियोमा प्रतिक्रिया दिँदै बेलायती चराविद क्यारोल इन्स्किप्प भन्छन्– ‘यो खुसीलाग्दो अभिलेख हो । नेपालमा यसको अभिलेख असाध्यै कम छ ।

ब्राईन हगसनको अभिलेखपछि सन् १९६२ मा काठमाडौँको ककनी नजिकै डीसेलहोर्स्टले नमुना संकलन गरेका थिए । त्यसैगरी कास्कीको पिपर क्षेत्रमा भेटेको भनेर सिजीटि फोगीटले २१ वर्षअघि दाबी गरेका थिए । थप विवरण खोजी हुँदैछ ।’

थकालीले भिडियो खिचेको यो प्रजाती long-eared owl भन्नेमा दुइमत नरहेको विज्ञहरु बताउँछन् । यसको नेपाली नाम ‘लामकाने लाटोकोसेरो’ हो ।

‘नेपालका चराहरु’, ‘नेपालका लाटोकोसेरोहरु’ पुस्तकले यो प्रजातिलाई फिरन्ते भनेर उल्लेख गरेको छ । यसको अर्थ नेपालमा १÷२ वटा मात्र अभिलेख गरिएको भन्ने अर्थ हो । नेपालमा लमकाने लाटोकोशेरोको भिडिओ खिचेको नेपालमा पहिलोपटक हो । भनेर भिडिओको आधारमा चरा विदहरु डा. हेमसागर बराल, बेलायती चराविद क्यारोल इन्स्किप, सोम जिसी र हठन चौधरीले प्रमाणित गरेका थिए ।