कोभिड–१९ संक्रमणको जोखिम बढेपछि म्याग्दीका तीनवटा स्थानीय तहले लकडाउन गरेका छन् । कोभिड–१९ को संक्रमण समुदायस्तरमा समेत पुगेको भन्दै स्थानीय तहले अत्यावश्यक सेवाबाहेक अन्य सबै सेवाहरु पूर्ण रुपमा बन्द गरेका हुन् ।

म्याग्दीको बेनी नगरपालिकाले आउँदो २८ गतेसम्म, मंगला गाउँपालिकाले मंसिर १ गतेसम्म र मालिकाले अर्को सूचना जारी नभएसम्म अत्यावश्यक बाहेकका सम्पूर्ण सेवासुविधाहरु सञ्चालनमा रोक लगाएका छन् ।

यसैगरी रघुगंगा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित जलविद्युत आयोजनामा काम गर्न आउने मजदुरलाई रोक लगाउने, पर्यटकीय क्षेत्र भ्रमण गर्न नदिने र अन्नपूर्ण गाउँपालिकाले पनि पर्यटकीय क्षेत्र भ्रमणमा रोक लगाएको छ ।सदरमुकाम बेनीबजारसहित बेनी नगरपालिकाले अत्यावश्यकबाहेक बेनीमा सञ्चालित सबै पसल व्यवसाय, बैंक तथा वित्तीय संघसंस्था र सहकारीको कारोबार बन्द गरेको छ ।

बेनी नगरपालिकाले संक्रमणको जोखिम उच्च रहेको भन्दै जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) म्याग्दीलाई सिफारिस गरेपछि डिसिसिएमसीको वैठकले बेनीबजार र नगरपालिका क्षेत्रमा अत्यावश्यकबाहेक अन्य सेवा बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिनुभयो ।

बेनी नगरपालिका क्षेत्रमा यसअघि गएको कार्तिक १४ देखि २१ गते शुक्रबार राती १२ बजेसम्मका लागि अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएकोमा पुनः बन्दको समयावधि थपिएको हो । डिसिसिएमसीको शुक्रबार सम्पन्न वैठकले आगामी कार्तिक २८ गते राती १२ बजेसम्म बेनीबजार क्षेत्र बन्द गर्ने निर्णय गरेको जनाएको छ ।

पछिल्लो समय म्याग्दीको बेनीमा कोरोना भाइरस संक्रमणको जोखिम बढेकोले त्यसलाई कम गर्न बेनी नगरपालिकाको आग्रहमा डिसिसिएमसीको वैठकमा एक हप्ता बन्दको अवधि थप गरिएको सहायक प्रमुख जिल्ला अधिकारी माया कुँबरद्वारा हस्ताक्षरित जरुरी सूचनामा जनाइएको छ ।

सूचनाअनुसार पछिल्लो समय स्वाब सङ्कलन गरिएका नमुनामध्ये २३ प्रतिशतमा कोरोना देखिएकोले थप एक हप्तासम्म बन्द गर्न उचित देखिएका हुँदा बन्दलाई २८ गतेसम्म निरन्तरता दिने निर्णय भएको हो । जिल्लामा हाल कोभिड–१९ का सक्रिय संक्रमितहरु कुल ३६ जना रहेकोले उनीहरु सबै आईशोलेसनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसैबीच म्याग्दी होटल तथा रेष्टुरेण्ट व्यवसायी संघका अध्यक्ष ताराप्रसाद आचार्य (बाबुराम)ले बन्दलाई सदाको लागि बन्द गर्नुपर्ने भन्दै सामाजिक सञ्जालमार्फत विरोध जनाएका छन् । यता बेनीका व्यापारीहरुको भने तिहार पर्व नजिकै आएकाले पसल खोल्न पाउनुपर्ने माग छ ।  यता बजार क्षेत्र बन्द गरिएपनि बोलेरो लगायतका सार्वजनिक यातायातमा भने कोचाकोच यात्रु बोक्ने गरिएको छ।