राजमार्गको छेउमा एउटा जस्ता पाताको सानो छाप्रो छ । दिनहुँ राजमार्ग भएर सानादेखि ठूला सवारीसाधनहरु गुडिरहन्छन् । छाप्रोभित्रबाट आरन चलेको आवाज सुनिन्छ । बेनी–जोमसोम–कोरला सडकखण्डमा पर्ने म्याग्दीको गलेश्वर नजिकै आरन पेशा सञ्चालन गर्ने उहाँ हुनुहुन्छ, टुकबहादुर लोहार (राजु) ।

रोजगारीको लागि दश वर्षसम्म भारतमा पसिना बगाउनुभएका राजु अहिले आफ्नाे गाउँठाउँमै रमाइरहनुभएको छ । आफ्नो पुर्ख्यौली पेशा आरनमा मन लगाउनुभएको छ । अर्काको देशमा जति राम्रो काम भए पनि सन्तुष्टि  भने आफ्नै गाउँठाउँमा काम गर्न जति अर्काकाेमा नमिल्ने उहाँको अनुभव छ ।

‘अर्काको देशमा के राम्रो लाग्थ्यो’, उहाँ भन्नुहुन्छ, ‘मेहेनत बढी नै गर्नुपरे पनि आफ्नो देश भनेको आफ्नै हुन्छ ।’राजुको निधार पसिनाले निथ्रुक्क भएको छ । छाप्रोको भित्तामा ‘साउण्ड सिस्टम’ छ । त्यसैमा बजेका गीतसँगै राजुका हतौडाकाे आवजले छाप्रो थर्किन्छ । गीतमा डुब्दै काम गर्दा थकान महसुस नहुने राजु बताउनुहुन्छ ।

बुटवलबाट सुरु भएको उहाँको पुर्ख्याैली पेशा (आरन व्यवसाय) स्याङ्जा, पोखरा हुँदै अहिले म्याग्दी आइपुगेको छ । उहाँले म्याग्दीको बेनी नगरपालिका–६, अर्थुङ्गेमा रहेको गलेश्वर नजिकै भाडामा बसेर राजमार्गको छेउमा आरन व्यवसाय सञ्चालन गरी जीविका चलाउँदै आउनुभएको छ ।

रुपन्देही जिल्लाको देवदह नगरपालिका–३, घर भएका टुकबहादुरको पुर्ख्याैली  घर भने स्याङ्जा हो । सानैमा आफ्नो बुवासँगै बुटवल झर्नुभएका उहाँ पछि पुनः स्याङ्जामै फर्किएर केही समय आरन पेशा सञ्चालन गर्नुभएको थियो । पारिवारिक स्थिति कमजाेर थियाे । सामान्य लेखपढ समेत गर्न नपाउनुभएका उहाँले विवाह गरेपछि झण्डै दश वर्षको समय भारतमा बिताउनुभयो ।

भारतका पनि धेरै ठाउँमा उहाँ पुग्नुभयो । लखनउ, दिल्ली, कानपुरमा बसेर रोजगारी गर्दा उहाँ बेलाबखत घर आउनुहु्नथ्याे । भारतमा उहाँले घरमा खाना पकाइदिने काम गर्नुभयो । अर्काको घरमा खाना पकाउँदा पकाउँदै दश वर्ष बिते । यसरी जीवन चल्दैन जस्तो लागेपछि राजुले त्यो काम छाडेर नेपाल फर्किनुभयो ।

२०५६ सालमा घर फर्किएपछि राजुले आफ्नै बाबुबाजेले गरेको पुर्ख्याैली काम भनेर आरन चलाउने पेशामा लाग्नुभयो । सानोमा त्यसमा काम गरेको अनुभव पनि थियो । धेरै कुरा सिकेको पनि थियो । त्यही पेशा अँगाल्न राजुलाई सहज भयो ।

उहाँले केही समय गाउँमै आरन पेशा सञ्चालन गर्नुभयो । बुटवल बस्दा गाउँमा चार–पाँच वर्ष आरन पेशा गर्नुभएका उहाँले स्याङ्जा फर्किएर २ वर्ष, पोखराको खसीबजारमा १० वर्ष यही पेशा गर्नुभयो । त्यहाँबाट म्याग्दीको गलेश्वर आएपछि विगत डेढ वर्षदेखि आरन पेशा सञ्चालन गरिररहनुभएको छ ।

राजुले हँसिया, कुटो, कोदोला, ओदान, खुँडा, दाबेलगायत सामानहरु बनाउनुहुन्छ ।

छोराछोरीलाई पढाउने सपना

राजुलाई आफ्ना छोराछोरी आफूजस्तै नबुन् भन्ने लाग्छ । राम्रो शिक्षा लिएर आरामदायी जागिर गरुन् भन्ने राजुको सपना छ । ‘मेरो त पढाइलेखाई नै छैन मत ल्याप्चे मात्रै लाउने हो’, उहाँ भन्नुहुन्छ, ‘छोराछोरीलाई भने राम्रो पढाउने सोचेको छु ।’

राजु उमेरले ४३ वर्षमा पुग्नुभयो । श्रीमती, दुई छोरा र छोरी छन् । सबैको खर्च उहाँले आरन पेशाबाटै धानिरहनुभएको छ । यसमा परिवारले पनि सहयोग गर्छन् । आरन पेशाबाट मासिक ५०÷६० हजारसम्म आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ ।

यस्तो पेशातर्फ सरकारको पनि ध्यान जाओस् भन्ने उहाँलाई लाग्छ । अरु पेशा गर्नेहरुलाई सरकारले अनुदान दिन्छ तर आफ्नो पेशामा भने कहिल्यै त्यस्तो सहायता केही नपाएको उहाँ गुनासो पोख्नुहुन्छ ।