उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कोभिड–१९ को संक्रमण समुदायस्तरमा पुग्ने जोखिमलाई मध्यनजर गरी बैंक तथा वित्तिय संस्थाको सेवा बन्द गरेको छ । जिल्लामा समुदायस्तरमै कोरोना संक्रमति भेटिन थालेपछि भिडभाड हुने वित्तिय संस्थाको सेवा कात्तिक २४ गतेदेखि २८ गतेसम्म स्थगित गरिएको प्रमुख प्रशासकीय अधिकृत नविन सुबेदीले बताए ।

‘अहिलेसम्म अन्नपूर्ण सुरक्षित छ,‘पर्यटकीयस्थलमा आउनेलाई पनि कडाई गरिएको छ’ सुबेदीले भने । उनले पर्यटकीयस्थलमा भ्रमण आउनेलाई बास नदिन समेत सबै वडामा ब्यवसायीलाई अनुरोध समेत गरेको बताए । त्यस्तै पोखरेबगरमा रहेका वित्तिय संस्थामा हुने भिडभाडबाट समेत जोखिम बढ्ने अवस्था देखिएकाले सेवा बन्द गरी थप समुदायस्तरमा सचेतनामुलक कार्यक्तम सञ्चालन गर्ने बताए ।

अन्नपूर्णमा गरिमा विकास बैंक, प्रभु बैंक, धवलागिरी बचत तथा ऋण सहकारी संस्था, पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाको शाखा रहेको छ ।  गाउँपालिकाकै वडा नं ८ घर भएकी एक महिलाको आइतबार पोखराको एक अस्पतालमा कोरोना पुष्टी भएपछि महिलाको सम्पर्कमा रहेकालाई समेत होम क्वारेन्टाइनमा बस्न गाउँपालिकाले अनुरोध गरेको छ ।

गाउँपालिका अध्यक्ष डमबहादुर पुनद्धारा ७ बुँदे जरुरी सूचना जारी गदैं कोरोनाको संक्रमणबाट जोगिन र सूरक्षा मापदण्डको कार्यान्वयन गर्ने गाउँपालिकाबासीलाई अनुरोध गरेका छन् । म्याग्दीमा बेनी नगरपालिकाले २८ गतेसम्म, मंगला गाउँपालिकाले मंसिर १ गतेसम्म र मालिकाले २८ गतेसम्म अत्यावश्यक बाहेकका सम्पूर्ण सेवासुविधाहरु सञ्चालनमा रोक लगाएको छ ।