म्याग्दीको बेनी नगरपालिका, मंगला र रघुगंगा गाउँपालिकाको सङ्गमस्थलमा पर्ने टोड्के पर्यटकीय गन्तव्यको क्षेत्र बन्दै जान थालेको छ ।

टोड्केमा स्थानीयवासिन्दाले सामूहिक लगानीमा सामुदायिक लज निर्माण गरी सञ्चालन गरेपछि पछिल्लो समय पर्यटकको चहलपहल बढेको हो ।पर्यटकीयस्थल टोड्केमा टोड्के हिल रिसोर्ट प्रालिद्वारा आधुनिक सुविधासम्पन्न सामुदायिक लज सञ्चालनमा ल्याएपछि विगतको तुलनामा भन्दा पछिल्लोपटक पर्यटक आगमन बढेको स्थानीयले बताएका छन् । समुन्द्री सतहदेखि २ हजार ५ सय मिटरको उचाइमा अवस्थित पर्यटकीय क्षेत्र टोड्कमा आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमनमा वृद्धि हुँदै गएको टोड्के हिल रिसोर्ट प्रालिले जनाएको छ । पर्यटकीय क्षेत्र टोड्के भ्रमण गर्नका लागि म्याग्दी जिल्लासहित बागलुङ, पर्वत, पोखरा, काठमाडौं र विदेशी मुलुकहरु जापान, चीन, फ्रान्सबाट आन्तरिक तथा बाह्य पर्यटकहरु पुग्ने गरेका छन् ।

व्यस्त जीवनको तनावबाट मुक्त हुन, मनोरञ्जन लिन र डाँडाकाँडासहित मनोरम हिमश्रृङ्खलाहरुको दृश्यावलोकन गर्न पर्यटक टोड्के जान्छन् । टोड्के क्षेत्र भ्रमण तथा रिसोर्टमा बस्न आउने पर्यटकहरुलाई स्थानीय उत्पादन मुलाको चट्नी, फापर तथा कोदोको ढिँडो, स्थानीय जातको लोकल कुखुराको मासुलगायत अर्गानिक खानाहरु खुवाउने गरिएको रिसोर्टका असिस्टेन्ट म्यानेजर मेनुका थजालीले जानकारी दिनुभयो ।

प्रालिमार्फत निर्माण गरिएको लजमा ९ जना संस्थापकसहित ३३ जनाले तीन करोड रुपैयाँ भन्दाबढी लगानी गरेका छन्। रिसोर्टमा लगानी गर्नेहरु रघुगंगा र मंगला गाउँपालिका तथा बेनी नगरवासीहरु रहेका छन्भने काठमाडौं, अमेरिका, जापान, हङकङ, पोर्चुगललगायत विदेशमा रहेकाहरुबाट पनि लगानी गरिएको छ । उक्त लजमा न्युनतम एकलाख रुपैयाँदेखि २५ लाख रुपैयाँसम्म लगानी भएको छ ।

अहिले पर्यटकलाई लक्षित गरेर प्रालिद्वारा टोड्केमा हाई अल्टिच्युड प्ले–ग्राउण्ड, वनस्पति उद्यान केन्द्र, पार्क निर्माण तथा कृषि खेती गर्नतर्फ जोड दिइएको टोड्के हिल रिसोर्ट प्रालिका सञ्चालक भीम शेरचनले जानकारी दिनुभयो ।

रिसोर्टमा अर्गानिक खानाका परिकारहरु खुवाउने भनेर कृषि खेती थालिएको छ भने मालिका धुरी र टोड्केमा रहेको स्वर्गाश्रमलाई लक्षित गरी मुक्तिनाथ जाने पर्यटकलाई तान्ने योजनासहित अगाडि बढिएको उहाँले बताउनुभयो ।

खासगरी आन्तरिक पर्यटकलाई लक्षित गरी बनाइएको सामुदायिक लजमा एट्याच बाथरुमसहित १० ओटा कोठा, दुईवटा बैठक कक्ष, डाइनिङ हल, कार्यक्रम सञ्चालन गर्न मिल्ने सभाहल, बार तथा रेष्टुरेण्ट र १० वटा टेन्ट हाउससहित करिब १ सय जनाको क्षमता रहेको छ ।

टोड्के जानका लागि म्याग्दीको बेनीबाट अर्थुङ्गे–पुलाचौर–चिप्लेटी–डडुवा–पूर्णगाउँ, बेनी–घतान–पात्लेखेत–झीँ र बेनी–बाबियाचौर–कुहुँ हुँदै पूर्णगाउँ भएर पुग्न सकिन्छ ।

म्याग्दी सदरमुकाम बेनीदेखि सवारीसाधनमार्फत डेढ घण्टाको यात्रापछि पुग्न सकिने पर्यटकीय क्षेत्र टोड्केबाट धौलागिरी, अन्नपूर्ण, निलगिरी, माछापुच्छ«े, मानापाथीलगायत दर्जनौं मनोरम हिमश्रृङ्खलाहरु देखिन्छन् । म्याग्दीको अधिकांश भू–भागसहित मुस्ताङ, बागलुङ र पर्वत जिल्लाको डाँडाकाँडाहरु समेत देखिने टोड्केमा माघ फागुनमा ढकमक्क फुल्ने लालीगुँरासले पर्यटकको मनै लोभ्याउँछ ।