सरकारले देशमा रासायनिक मल कारखाना खोल्ने निर्णय गरेसँगै त्यसको विरोध शुरु भएको छ । कात्तिक २५ गते बसेको मन्त्रिपरिषद् बैठकले रासायनिक मल काराखाना खोल्ने विषयमा अध्ययन गर्नका लागि कार्यदल गठन गरेको थियो । रासायनिक मल प्रयोगलाई कम गर्नुको सट्टा सरकारले त्यसमा थप लगानी गर्न खोजेको भन्दै विरोध भएको हो । खाद्यका लागि कृषि अभियानले बिहीवार पत्रकार सम्मेलन गरी निर्णयप्रति आपत्ति जनाएको छ । अभियानका संयोजक उद्धव अधिकारीले नेपाल अवस्था हेर्दा रासायनिक मल कारखाना सम्भव नरहेको दावी गरे ।

रासायनमा आधारित कृषिमा लागेका देशहरुले पनि रासायनिक कारखाना बन्द गरिरहेको बेला नेपालले रासायनिक मलको कारखाना खोल्नु उचित नरहेको उनले बताए ।

अर्गानिक कृषिमा सरकारले जोड दिएको पनि देखिन्छ । नीति तथा कार्यक्रमदेखि लिएर बजेटमा पनि ती कुराहरु समावेश गरिएको छ । सरकारलाई नेतृत्व गरेको दलहरुले पनि अर्गानिक कृषिमा जोड दिएको देखिन्छ तर अहिले अर्गानिक कृषि भन्दा पनि रसायनिक मलमा जोड दिएको भन्दै अभियानका संयोजक अधिकारीले देशको माटो र वातावरण जोगाउनका लागि भएपनि देशमा कारखाना खोल्न दिन नहुने बताए ।

कृषि अभियनता डा.कृष्ण पौडेलले रासायनिक मलमा विषाक्त रसायनहरु हुने र यसले बालीमा मात्र होइन, मानवको स्वास्थ्यलाई पनि असर पारेको दावी गरे । कृत्रिम मलहरु जुन किसिमले बनाउने गरिएको त्यसले मानव जीवन प्रकृयालाई असर पार्ने निश्चित रहेको बताउँदै उनले रासायिनक मल उत्पादनको प्रकृयालाई सुधार गर्नुपर्ने बताए ।

नेपालमा कारखाना खोल्ने कुराको विषयमा यसअघिका कृषि सचिवले दिएको प्रतिवेदनले देशमा आवश्यक अध्ययन गरेर मात्र खोल्नुपर्ने भनिएको थियो तर अहिले मन्त्रीपरिषद्ले अर्कैखालको निर्णय गरेको उनले बताए ।

पत्रकार चन्द्रकिशोरले तराई मधेशमा अर्गानिक मल बनाएर खेतमा प्रयोग गर्ने गरिएको भएपनि अहिले त्यो हराउँदै गइरहेको बताए ।

सरकारले मलमा आत्मनिर्भर हुने भनि कारखाना स्थापना गर्ने कुरा गरेको तर कस्तो कारखाना खोल्ने, कस्तो मल उत्पादन गर्ने, वातावरणीय प्रभाव के हुने भन्नेजस्ता  विषयमा ध्यान दिनुपर्ने उनले बताए ।

रासायनिक मलको कारखाना खोल्ने जस्तो सवेदनशील कुरामा आवश्यक अध्ययन जरुरी रहेको अभियानले जनाएको छ ।