बेनी नगरपालिका-३,भकिम्ली हल्लेगौडाका कर्णबहादुर रोकाको बारीमा लटरम्मै फलेको सुन्तलाको बोट सुक्यो । सुन्तलाको बोटले भार थेग्नै नसक्ने अवस्था टेको लगाएर समेत विक्री गरेका रोकाको बगैंचामा फलेको सुन्तलाको नगद हात पार्ने बेला सुन्तला बिग्रिएपछि किसान चिन्तित देखिएका छन्।

बर्षेनी सुन्तला फलेको सुन्तला विक्री गरेर घर खर्च चलाउँदै आएका सोचेन्द्र रोकाको बोटमा पहेंलपुर हुने सुन्तला औसा किराले नष्ट गरेको छ । नयाँ र पुरानो बोट सुक्ने र पाकेको सुन्तला झारेर रित्तो हुन थालेको रोकाले बताए । ‘बोट सुक्ने र सुन्तला टिप्ने समयमा बोटबाटै सुन्तला झर्न क्रम रोकिएको छैन’ उनले भने ।

दुईदशक देखि व्यवसायिक रुपमा सुन्तला खेती गर्दै आएकी भकिम्ली राखुकी अगुवा सुन्तला कृषक मनकुमारी पुन सुन्तलाबारीमा दैनिक रुपमा फल झर्न थालेपछि समस्यामा परेकी छिन् ।

मनसुनमको समयमा अधिक बर्षाले क्षती पु¥याएको सुन्तलाको बोटमा विभिन्न किसिमका रोग देखा पर्न थालेपछि उत्पादनमा करिब ५० प्रतिशत गिरावट आउने पुनले बताईन् ।‘यसपटक उत्पादन ह्वात्तै घटेको छ,‘टिप्ने तयारीमा रहेको सुन्तला भुईभरी झरेको छ’पुनले भनिन् । उनले लटरम्मै फलेको रुख नै झरेर रित्तो हुन थालेपछि स्थानीयले रोग नियन्त्रणका लागि प्रयास गरेपनि सफल नभएको बताईन् ।

करिब ११ हजारभन्दा धेरै नयाँ बिरुवा समेत अनुदानको रुपमा उपलब्ध गराइएको र लगातार उत्पादन बढ्ने अवस्थामा अज्ञात रोगले उत्पादनमा गिरावट आएको उनले बताए। कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत रहेको सुन्तला जोनमार्फत रोकथामका लागि विषाधि प्रयोग गरेपनि किरा मार्न नसकिएको वडा अध्यक्ष पुनको भनाई छ ।

भकिम्लीमा सानाठुला गरी दुईसय घरधुरीले सुन्तला खेती गरेका छन् । म्याग्दीमा ‘व्याक्ट्रोसेरा मिनाक्स’ नामको किराको संक्रमणले समेत किसानलाई सताउने गरेको छ ।

थोरै लगानीमा गरेको सुन्तला खेतीले छोटो समयमा नै उत्पादन र राम्रो आम्दानी दिएपछि कृषकहरुको सुन्तला खेतीतर्फ आकर्षण बढ्दै गैरहेको छ । जिल्लाको ६ वटै स्थानीय तहको ७ सय १० हेक्टर जमिनमा सुन्तला खेती भइरहेकोमा यसबर्ष २ सय ८० हेक्टरबाट २ हजार ३१० मेट्रिक टन सुन्तला उत्पादन हुन्छ ।

पकेट क्षेत्रमा बगैचा विस्तार,सुधार, पुराना बोटको मर्मत, सुन्तला ढुवानी गर्ने कार्टनुमा अनुदानका गतिविधिमा कृषकको माग अनुसार सम्बन्धित निकायबाट भने सहयोग हुनसकेको छैन् । जिल्लामा बार्षिक १७ करोड हाराहारीमा सुन्तला विक्री हुने अनुमान गरिएको कृषि केन्द्रले जनाएको छ ।