कोरोनाको संक्रमणबाट यूरोपेली मुलुक नेदरल्याण्डमा ज्यान गुमाएकी एक म्याग्देलीको स्मृतिमा ३ लाखभन्दा बढी आर्थिक सहयोग गरिएको छ । म्याग्दीको मालिका गाउँपालिका–६ रातढुंगा घर भई नेदरल्याण्ड बस्ने स्वर्गीय लक्ष्मी भट्टचनको स्मृतिमा संकलन गरिएको ३ लाख १० हजार ५५२ रुपैयाँ परिवारलाई हस्तान्तरण गरिएको हो।

कोरोना संक्रमणबाट उपचारकै क्रममा प्रवासमा ज्यान गुमाउनुपरेको अवस्थामा मोना अन्तराष्ट्रिय, मोना नेदरल्याण्डका साथै ब्यक्तिगत रुपमा संकलन गरिएको आर्थिक मोना अन्तराष्ट्रियका उपाध्यक्ष मिम पूर्जा, मोना नेदरल्याण्डका कोषाध्यक्ष जिवन पुन, मोना आइसी सदस्य शेर शेरचनको उपस्थिति रहेको थियो ।

‘स्वर्गीय भट्टचनको सम्झनामा सामाजिक कार्यमा सघाउन उक्त सहयोग गरिएको छ,‘उहाँको परिवारको मोनामा ठूलो योगदान छ’ मोना आइइसी उपाध्यक्ष पूर्जाले भने । उनले नेदरल्याण्डमा रहेका म्याग्देलीले एक सामाजिक कार्यमा सक्रिय महिलालाई गुमाउनुपरेको बताए ।

मोना नेदरल्याण्डका बरिष्ठ उपाध्यक्ष भरत भट्टचनकी श्रीमतिका साथै नेपाली संघसंस्थामा सक्रिय सदस्य समेत रहेको पूर्जाले बताए । स्वर्गीय भट्टचनको परिवारले उक्त सहयोग गृहजिल्लामा विभिन्न सामाजिक कार्यमा सहयोग गर्ने जनाएका छन् ।