बेनी नगरपालिका–३,भकिम्लीमा उत्पादन भएको स्वादिलो र गुणकारी मानिने किवी फलको निर्यात सुरु भएको छ। स्थानीयले खेतबारीमा लगाएको किवी खेती फस्टाएसँगै यसबर्ष सदरमुकाम बेनी र पोखराको बजारसम्म पुगेको छ ।

भकिम्लीको मुसुङका पृथिबहादुर पुन, खेमसिंङ राना लगायतले परीक्षणको रुपमा लगाएको लहरा प्रजातिको ’किवी’ फलको खेती सफल भएपछि यसबर्ष करिब ५ क्विन्टलको हाराहारीमा किबी उत्पादन भएको वडा अध्यक्ष पदमबहादुर पुनले बताए ।

‘यसपटक भकिम्लीको किबीले पोखरामा समेत बजार लिएको छ,‘ गुणस्तरीय आकार र तौल भएको फल उत्पादनमा जोड दिएका छौ’ अध्यक्ष पुनले भने ।

उनका अनुसार उत्पादित फल सानो हुने भएमा बजारमा समस्या हुने भएकाले गुणस्तरीय उत्पादनमा ध्यान दिन थालेपछि बजारमा समेत विक्री हुन थालेको बताए ।

भकिम्लीबाट खेमसिंङ रानाले साढे १ क्विन्टल पोखरामा विक्री गरिसकेका छन् भने बारीमा टिपेर समेत विक्रीका लागि लैजाने तयारीमा छन् भने पृथिबहादुर पुनले बिहिबार करिब ५० केजी बेनीबजारमा ल्याएका छन् । खुद्रा ३ सय र होलसेलमा २ सय मुल्यमा विक्री भइरहेको पुनले बताए ।

‘अब किवी आम्दानीको स्रोत बन्छ,‘मौसमले साथ दिएमा आगामी बर्ष अझै धेरै विक्री हुन्छ’ उनले भने । किबी खेतीलाई भकिम्लीको हावापानी अनुकुल भएको उनले बताए । भकिम्ली, डोले, मुसुङका किसानले ५० देखि १ हजारसम्म बिरुवा रोपेका छन् ।

गाउँमा करिब ७० घरधुरी किवी खेतीमा आर्कषित छन् । धमाधम किसानको माग बढ्न थालेपछि वडा कार्यालयमार्फत करिब ४ लाख बजेटमा विरुवा खरिद तथा बिरुवा रोप्ने, मल हाल्ने, पिलर ठड्याउने लगायतका प्राविधिक सहयोग समेत गरिएको थियो ।केहीबर्ष भित्र भकिम्लीबाट सुन्तलाजस्तै किवीको निर्यात हुने कृषकको भनाई छ । ‘बिरुवा रोपेको चारवर्षपछि फल दिने भएकाले जरामा र सधैं गोडमेल र किवीको डन्डी र पातमा पनि रोगले आक्रमण गर्ने भएकाले विषेश ध्यान दिनुपर्ने अगुवा कृषकले बताए । किवी फल चिसो हावापानीमा फल्ने प्रजाति रहेको भकिम्लीको हावापानी चिसो भएकाले पनि सहज भएको किसानको भनाई छ । समुन्द्री सतहबाट नौ सयदेखि २७ सय मिटर उचाइमा किवीको खेती हुन्छ । पाकेको किवी फलको स्वाद हल्का अमिलो, गुलियो हुने भएकाले भिटामिन सी, ए र बी बढी मात्रा पाइन्छ । किवीको नियमित सेवनबाट गर्भवती महिला, रगत, मुटुका विरामी र रुघाखोकी लगायतका विरामीलाई विशेष फाइदा पुग्छ । भकिम्लीका किवीसँगै टिम्बुरको नर्सरी समेत स्थापना गर्ने तयारीमा कृषक जुटेका छन्।