नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल प्यानल विजयी गराउन गण्डकी प्रदेशले ५१ सदस्यीय चुनाव प्रचारप्रसार समिति गठन गरेको छ। महासंघका गण्डकी प्रदेश अध्यक्ष सञ्जीवबहादुर कोइरालाको संयोजकत्वमा गण्डकीका सबै जिल्ला नगरका अध्यक्ष तथा पूर्व अध्यक्षहरु सम्मिलित समिति गठन गरेको हो।

महासंघको ५४ औं वार्षिक साधारणसभा एवं आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल, जिल्ला नगरतर्फका उपाध्यक्ष उम्मेदवार गुणनिधि तिवारी र जिल्ला नगर तथा प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य निर्वाचित गराउन समिति गठन गरिएको संयोजक कोइरालाले जानकारी दिए।गण्डकी प्रदेशले यसअघि नै ढकाल प्यानललाई विजयी गराउन सर्वसम्मत निर्णय समेत गरिसकेको छ ।

समितिमा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश कार्यसमितिका ११ जना, गण्डकी प्रदेशभित्रका २० वटा उद्योग वाणिज्य संघका अध्यक्षहरु र पूर्व अध्यक्षहरु गरी जम्मा ५१ सदस्यीय कार्यसमिति गठन गरेको हो ।महासंघको आसन्न निर्वाचनमा ढकाल प्यानलको जीत सुनिश्चित भैसकेको र अझै बढी मतले जिताउन कमिटि नै गठन गरेर प्रचारप्रसारमा लागेको संयोजक कोइरालाले बताए ।