आधा दशक अगाडीसम्म बागलुङ–पोखरा राजमार्गमा आवतजावत गर्ने आन्तरिक तथा बाह्य पर्यटकको कमै रोजाईमा पर्ने पर्वत जिल्लाको सदरमुकाम कुस्मा अहिले सहासिक पर्यटनको उत्कृष्ट गन्तब्य बनेको छ । धौलागिरी भित्रका चार जिल्लामा पर्यटकीय गतिविधिमा सबैभन्दा कम चहलपहल हुने पर्वतको सदरमुकाम कुस्मा नेपालको नयाँ र आर्कषक गन्तब्यसँगै गण्डकी प्रदेश भित्र घुम्नै पर्ने गन्तब्यको रुपमा स्थापित भइरहेको छ ।

दशैंतिहारको विदामा देशका विभिन्न जिल्लाबाट मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वत हुदै बग्ने कालीगण्डकी नदीमाथि द क्लिफले बिश्वकै अग्लो स्विङ, बिश्वकै दोस्रो अग्लो बन्जी नेपालकै एक मात्र स्काइ साइक्लीङ तथा गुलेली शैलीको पिङ, आर्कषक रिर्सोट सञ्चालन ल्याएपछि कुस्ममा दैनिक सयौं आन्तरिक पर्यटकको भिड लाग्ने गरेको छ ।

गुप्तेश्वर गुफा, बलेवा एयरपोर्टका साथै बागलुङ पोखरा राजमार्गबाट करिब १० मिनेटको दुरीमा रहेको पबन्जीको नयाँ गन्तव्यका साथै सहासिक पर्यटनको हब नै बनेको छ ।

एकदिन भरी घुम्न, खेल्न मिल्ने गरी पूर्वाधार विस्तार गरिएको सञ्चालक नेत्रनाथ अधिकारीले बताए । ‘हामीले सुविधा थप्दै जाने छौ,‘पर्यटकको बसाई लम्बाउने गरी थप पूर्वाधारमा समेत जोड दिइएको छ’ अधिकारीले भने ।

कोरोना भाइरसको जोखिम, लामो समयको लकडाउनले असर गरेपनि हाल घुम्न र खेल्न आउने पर्यटकको संख्या उत्साहजनक रहेको अधिकारीको भनाई छ । अत्याधिक भिडका कारण बन्जीका बुकिङ गरेकाले समेत केही दिनपछि मात्रै खेल्न पाउने बताए । पोखरादेखि म्याग्दी, मुस्ताङसम्म जाने पर्यटकले कुस्मामा बसेर अवलोकन तथा एक पटक बन्जी नगरी नजाने अवस्था आउन थालेको भन्दै लगानीकर्ता समेत उ्त्साहित भएका छन् । द क्लिफ प्रालिमा अहिले राजु कार्की, युवा व्यवसायी युवराज जोशी सहित ११ जनाको लगानी छ ।

चिनको मकाउ टावरमा दुई सय ३३ मिटरमा पहिलो, स्विट्जरल्यान्डको टिसिनो भिर्जस्का ड्याममा दुई सय २० मिटरको दोस्रो र साउथ अफ्रिकामा तेस्रो अग्ला बन्जी सञ्चालनमा रहेको अवस्थामा कुस्माले विश्वभरका पर्यटकलाई तान्ने वातावरण बनाइरहेको सञ्चालक यूवराज जोशीले बताए ।

‘एसियाकै उत्कृष्ट गन्तव्य बनाउने प्रयासमा छौ,‘एकपटक घुमेर जानुहोस्’ जोशीले भने । कुस्मामा ठूलो लगानीमा बन्जी लगायतका संरचना बनेपछि होटल ब्यवसायका साथै आर्थिक कारोबार समेत फस्टाएको छ । एक देखि दुईरातसम्म कुस्माको होटलमा बास बसेर बन्जी खेल्न जानेको संख्या बढेको पर्यटन ब्यवसायीको भनाई छ ।