OLYMPUS DIGITAL CAMERA

पर्वतको कुस्मा नगरपालिकाले पालिकाअन्तर्गत विद्यालयहरूलाई मंसिर ७ गतेबाट सञ्चालन गर्न पाउने गरी निर्णय गरेको छ।

कोभिड– १९ का कारण बन्द विद्यालय सञ्चालन गर्ने वा तत्काल बन्द नै राख्ने विषयमा स्थानीय निकाय आफैँले निर्णय गर्न सक्ने भनेपछि बिहीबार बसेको सर्वपक्षीय बैठकबाट विद्यालय सुचारु गराउन पाउने निर्णय गरिएको नगर शिक्षा प्रमुख विष्णुप्रसाद तिवारीले बताए।

‘नगरप्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत, सामाजिक विकास समितिका संयोजक, विभिन्न विद्यालयका प्रधानाध्यापकलगायत संयुक्त बैठकबाट ७ गतेबाट विद्यालय खोलेर विचार गर्ने निर्णय भएको छ,’ उनले भने, ‘विद्यालय खोल्न व्यवस्थापन समिति, विद्यालय प्रशासन र शिक्षकहरूको संयुक्त छलफलबाट स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउँदै जोर/बिजोर वा अन्य तरिका अपनाउन सक्ने निर्णय गरेका छौँ।’

पछिल्लो समयमा कुस्मा नगरपालिकामा संक्रमितहरुको सङ्ख्यामा कमी आउँदै गएको र लामो समय विद्यालय बन्द रहँदा बालबालिकाको शैक्षिक अवस्था खस्किएकाले विद्यालय खोलेर केही समय विचार गर्नुपर्ने सुझाव बैठकमा आएको पनि तिवारीको भनाइ छ।

विद्यालयलाई अनिवार्य रूपमा खुलाउनुपर्ने भनी निर्णय भने नभएको तर सम्बन्धित पक्षको सहभागितामा आवश्यक तयारी पूरा गरेर खोल्ने अनुमति दिइएको उनले बताए।

नगरपालिकाबाट विद्यालय खोल्न दिने निर्णय बिहीबार गरिएको भए पनि नगरपालिकाभित्रै ग्रामीण क्षेत्रमा रहेका विभिन्न विद्यालय भने यसअघिबाटै विभिन्न तरीका अपनाएर सञ्चालनमा आएका थिए।

कक्षा, रोलक्रम अनुसार विद्यार्थीलाई बोलाएर पहिलेबाट नै पढाइरहेको ग्रामीण क्षेत्रमा रहेका विद्यालयका कतिपय प्रधानाध्यापकहरू बताउँछन्। ग्रामीण क्षेत्रमा सङ्क्रमणको जोखिम कम रहेको भए पनि विद्यार्थीको सङ्ख्या उच्च रहेका सदरमुकाममा रहेका सामुदायिक तथा निजी विद्यालयमा भने जोखिम उच्च हुन सक्ने अभिभावकहरू बताउँछन्।

‘उपल्लो तहका विद्यार्थीले सामाजिक दूरीको पालना, हात धुने, सेनिटाइजर प्रयोगलगायत कुरा जान्ने गर्ने भए पनि साना कक्षाका बाबुनानीहरुले त्यो सतर्कता अपनाउन सक्दैनन्,’ कुस्मा बजारकै एक जना अभिभावक हरिप्रसाद पौडेलले भने, ‘नगरपालिकाले उसको ठाउँबाट खोल्न दियो ठिक छ। तर मैले मेरो बच्चालाई तत्कालै विद्यालय पठाउन सक्दिनँ। सङ्क्रमण भइहाल्यो भने त्यसको जिम्मेवार त म आफैं हो।’