नर्जाका घर घरमा धारा, हट्यो घण्टौं धाउनुपर्ने बाध्यता

0

सुख्खा ठाउँ भएकाले हिउँदमा मात्रै होईन वर्षाको समयमा समेत नर्जाखानीमा खानेपानीको समस्या थियो । जिल्लाको तमानखोला गाउँपालिका वडा नं. ६ की मनकुमारी छन्त्यालले गत वर्षसम्म एक घण्टाको बाटो हिँडेर खानेपानीको जोहो गरिन् ।
परिवारका लागि मात्रै होईन पशु चौपायाका लागि आवश्यक पानीको समेत नर्जामा समस्या रहेकाले उनले टाढाको बाटो हिँडेर पानीको जोहो गर्नुपर्दथ्यो । तमानखोला गाउँपालिकाले दुई वर्षअघि बागलुङको सबैभन्दा उचाइमा रहेको नर्जाखानी गाउँमा ‘एक घर एक धारा’ अभियान संचालन ग¥यो । फलस्वरुप प्रत्येक घरमा खानेपानीको धारा निर्माण भएको छ ।
धारा मात्रै निर्माण भएका छैनन्, अहिले ती धारामा आउने पानीले नर्जाबासीको दुःख हरण गरेका छन् । ‘अहिले सुखका दिन आए, यस्तो सजिलो होला भन्ने लागेको थिएन्’ नर्जाखानीकी मनकुमारी छन्त्यालले भनिन्– ‘पहिले बिहान उठेर एक घण्टा लगाएर खानेपानी ल्याउनु पर्ने बाध्यता थियो ।’ नर्जामा अहिले बराहकोटबाट पानी ल्याएर ‘एक घर एक धारा’ निर्माण गरिएको छ । ‘पहिले पानी लिन एक घण्टा लगाएर हिड्नुपर्ने थियो,’ उनले भनिन्– ‘घर घरमा धारा निर्माण गरिएपछि अहिले भित्र खाना बसालेर जगमा पानी लैजान सकिन्छ ।’ खानपानका लागि मात्रै होईन करेसामा तरकारी र पशुचौपायको लागि आवश्यक पानीका लागि समेत सहज भएको उनीहरु बताउँछन् ।
नर्जाखानी गाउँमा पानी ल्याउनका लागि तमानखोला गाउँपालिकाले दुई वर्षअघि ३८ लाख रुपैयाँ बजेटमा खर्चिएको थियो । घर घरमै धारा पु¥याउने योजना सफल भएपछि सहज भएको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताए । नर्जाखानी गाउँमा १ सय १४ धारा निर्माण गरिएको छ । दुई ओटा धारा सार्वजनिक धारासमेत गाउँको माझ पारेर निर्माण भएका छन् ।
वडा नं. ६ को भित्रिबनमा गत वर्ष ७ लाख रुपैयाँ र यस वर्ष १३ लाख रुपैयाँ विनियोजित गरि ‘एक घर एक धारा’ अभियान भैरहेको छ । यस्तै वडा नं. ६ कै पात्लेमा निरिक्षण गर्ने तयारी भइरहेको गाउँपालिका अध्यक्ष बुढाले बताए । बुढाले तमानखोलामा प्रत्येक घरमा स्वच्छ खानेपानी पु¥याउने उद्देश्यले एक घर एक धारा अभियान संचालन भइरहेको बताए ।
उनले पालिकासहित, प्रदेश, संघिय सरकार र संघ संस्थाको सहयोगमा खानेपानी आयोजनाको काम भइरहेको बताए । तमानखोलाा ६० प्रतिशत घरमा धारा निर्माण भैसकेको गाउँपालिकाको तथ्यांक छ । दुई वर्षभित्र गाउँपालिकाका सबै घरमा पानी पुग्ने अध्यक्ष बुढाले बताए । प्रदेश सरकार र संघीय सरकारले समेत तमानखोलामा प्राथमिकताका साथ पानीका योजनाहरु निर्माणमा खर्च गरेको उनको भनाई थियो ।

Leave a Reply