म्याग्दी प्रवासी नेपाली संघ (मोना) क्षेत्रीय कमिटी क्युस्युले म्याग्दीका ब्लड र स्तन क्यान्सर पीडितलाई करिब ८० हजार आर्थिक सहयोग गरेको छ ।

आर्थिक अभावका कारण उपचारमा समस्या झेल्दै आएकी मंगला गाउँपालिका–५, किमचौरकी ९ बर्षिया ब्लड क्यान्सर पीडित सरु बिकलाई ४० हजार २५१ र मंगला गाउँपालिका घर भई हाल पोखराको लामाचौरमा बस्दै आएकी स्तनक्यान्सर पीडित ३५ बर्षिया शिव कुमारी छन्त्याललाई ३९ हजार १३३ रुपैयाँ सहयोग गरिएको संस्थाका उपाध्यक्ष दिपक विकले जानकारी दिए ।

रोजगार, शिक्षा लगायत विभिन्न सिलसिलामा जापानमा पुगेका म्याग्देलीलाई एकजुट बनाउने उद्देश्यले फुकुओका क्षेत्रमा रहेका नेपालीबाट संकलन गरिएको आर्थिक पीडितलाई हस्तान्तरण गरिएको अध्यक्ष उज्ज्वल बानियाँले जानकारी दिए । ‘यो आर्थिकले उपचारमा सहज हुने अपेक्षा गरेको छु,‘भविस्यमा पनि यस्तै अभियानमा जुट्ने छौ’ उनले भने । काठमाडौंस्थित कान्ति बाल अस्पतालमा उपचारर्थ बालिका सरुको उपचारसँगै स्तनक्यान्सर पीडित छन्त्याललाई सहयोग हस्तान्तरण गरिसकिएको छ ।