म्याग्दीमा यसवर्ष विगतको तुलनामा सुन्तला उत्पादन घट्ने भएको छ । चाईनीज सिडरस फुड फ्लाई (औंसा) नामक किराको प्रकोपका कारण सुन्तला उत्पादनमा कमी आउने देखिएको हो । सुन्तलाको बोटमा औंसा किरा लागेर फल पहेंलो हुँदै झर्न थालेपछि किसानहरु चिन्तित भएका छन् ।

म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीको राखु, मरेक तथा ४ नम्बर वडा सिङ्गाको बास्कुना, सुर्केमेला, थामडाँडासहित मंगला र मालिका गाउँपालिकाको विभिन्न वडामा लगाइएको सुन्तला खेतीमा औंसा किराको प्रकोप देखिएको छ ।

रोग किराको प्रकोपका कारणले गर्दा बोटमा लागेको दाना (फल) ठूलो भए पनि यसवर्ष विगतको तुलनामा सुन्तला उत्पादन घट्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

सुन्तलाको बोटमा औंसा किरा लागेर पाक्न लागेको सुन्तला झरेपछि आफूहरु समस्यामा परेको बास्कुनाका अगुवा कृषक तिलक गुरुङले गुनासो गरे । बास्कुना, सुर्केमेला र थामडाँडा क्षेत्रमा मात्रै ७० घरधुरीले २० हजार बोट सुन्तला लगाएका छन्भने तीमध्ये ७ हजार बोटले उत्पादन दिएको उनले जानकारी दिए ।

अधिकांश कृषकको बोटमै सुन्तला झर्न थालेको हुँदा गतवर्ष भन्दा यसवर्ष उत्पादनमा कमी आउने उनले बताए । कृषक गुरुङका अनुसार गतवर्ष बास्कुना–सुर्केमेला र थामडाँडा क्षेत्रबाट मात्रै ४० लाखको सुन्तला बिक्री भएको थियो ।

बास्कुना क्षेत्रमा उत्पादित सुन्तला बास्कुना कृषि सहकारीमार्फत बिक्री वितरणको व्यवस्था मिलाइएको छ । प्रतिकेजी ६५ रुपैयाँ मूल्य तोकिएको सुन्तला बिक्रीबाट उत्पादनको २ प्रतिशत रकम सहकारीलाई दिइने अध्यक्ष गुरुङको भनाइ छ ।

यसपटक बास्कुनामा ‘ए’ र ‘बि’ ग्रेडका मात्रै सुन्तला रहेका छन् । नबलपरासीलगायत जिल्लाबाट सुन्तला खरिद गर्न ठेकेदारहरुले सम्पर्क गरेर बोटमै आउने गरेको किसानहरु बताउँछन् । बास्कुनाका कृषकहरुले सुन्तला ठेक्कामा बेच्दै आएका छन् । सुन्तलाको बोटमा औंसा किरा लागेका कारण यसपटक २० प्रतिशतले सुन्तला उत्पादन घट्ने ज्ञान केन्द्रका कृषि प्रसारअधिकृत गोविन्द पाण्डेले बताए ।

सुन्तलामा रोग किराको प्रकोप देखिएपछि आफूले स्थलगत रुपमा अनुगमन गरेको बताउँदै उनले किरा लागेर झरेको दानालाई सङ्कलन गर्न किसानहरुलाई प्लाष्टिक सहयोग गरिएको जानकारी दिएका छन् । औंसा किरा जुनारपछि सुन्तला खेतीमा लागेको हुँदा झरेका सुन्तला सङ्कलन गरी व्यवस्थापन गर्न किसानहरुलाई आग्रह गरिएको उनले बताए ।

रोग, किराको प्रकोप तथा यसवर्ष अत्यधिक वर्षाका कारण गुणस्तरमा कमी आएको हुँदा सुन्तला उत्पादन घट्ने कृषि प्रसार अधिकृत पाण्डेको भनाइ छ । रोग तथा किराको उपचार गर्न आगामी दिनमा सुन्तला उत्पादक किसानहरुको बगैंचा र बोटमा प्रोटिन बेट (खाद्य पासो) थापेर औंसा किराको नियन्त्रण गरिने उनले जानकारी दिए ।