नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा  चन्द्र ढकाल निर्वाचित भएका छन्। शनिबार सम्पन्न महासंघको निर्वाचनबाट ढकाल बिजयी भएका हुन्।ढकालले आफ्नो प्यानल बनाएर निर्वाचनमा होमिएका थिए। उनले ५४ प्रतिशतभन्दा बढी मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका प्रतिस्पर्धी किशोर प्रधान थिए।

व्यवसायी ढकाल यसअघि दुईपटक महासंघको कार्यकारिणी समिति सदस्य र एकपटक उपाध्यक्ष भइसकेका छन्।

महासंघको ५४ औं साधारणसभाले आगामी कार्यकालका लागि नयाँ कार्यकारिणी समिति निर्वाचित पनि गरेको छ। महासंघको विधानअनुसार अघिल्लो कार्यकालमा वरिष्ठ उपाध्यक्ष रहेका शेखर गोल्छा अध्यक्ष निर्वाचित भएका छन्।

शनिबार काठमाडौंमा सम्पन्न निर्वाचनबाट महासंघका वरिष्ठ उपाध्यक्ष सहितको नयाँ कार्यकारिणी समिति निर्वाचित भएको हो। महासंघको जिल्ला नगर वाणिज्य संघ तर्फको उपाध्यक्षमा दिनेशलाल श्रेष्ठ निर्वाचित भएका छन्। महासंघको वस्तुगत संघ तर्फको उपाध्यक्षमा अन्जन श्रेष्ठ निर्वाचित भएका छन्। किशोर प्रधान प्यानलका अन्जन श्रेष्ठले ६२ मत ल्याएर चन्द्र ढकाल प्यानलका उमेशलाल श्रेष्ठलाई पराजित गरेका हुन्।