????????????????????????????????????

म्याग्दीको बेनी नगरपालिका -१ रत्नेचौर देखि अर्जम, भकुण्डे हुँदै भकिम्ली जोड्ने सडकलाई कालोपत्र गर्न सुरु गरिएको हो । नगरपालिकाको तीन वटा वडालाई समेटिएको यस सडकखण्डको जिरो किलोमिटर रत्नेचौरदेखि सडक कालोपत्रे सुरु भएको छ ।

सडक डिभिजन कार्यालय बागलुङ मार्फत यस बर्ष १ हजार ३ सय मिटर सडक कालोपत्रे गर्न सुरु गरिएको वडा सदस्य टेकबहादुर थापाले बताउनुभयो । नालि सहित ८ दशमलब २० मिटर फराकिलोमा सडकलाई कालोपत्रे गर्न थालिएको छ ।

सडक डिभिजन मार्फत सडक कालोपत्रे गर्न रु १ करोड ३७ लाख र सडक स्तरोन्नती गर्न रु १ करोड १२ लाख ७६ हजारमा मा ठेक्का लिएको र निर्माण कार्यलाई अघि बढाएको निर्माण कम्पनीका सुपरभाइजर सनोज गौतमले जानकारी दिनुभयो । यस बर्ष रत्नेचौर क्षेत्रको सडक कालोपत्रेको काम सकिने र उपल्लाचौरदेखि अर्जम क्षेत्रको सडक स्तरोन्नतीको काम सकिने बताईएको छ ।

सडक फराकिलो बनाउने, हिमपाईप राख्ने, ग्राभेल गर्ने, मेसिनरी पर्खाल लगाउने र ढलान समेत गरि स्तरोन्नती गरिने सडकको काम समेत ७० प्रतिशत सम्पन्न भएको छ । सडकको ट्याक निर्माण भएको करिब दुई दशकपछि ग्रामिण सडक कालोपत्र आयोजना सञ्चालन भएपछि स्थानीयबासी उत्साहित बनेका छन् ।

कच्ची सडकका कारण नियमित सवारी साधन सञ्चालन नहुने, हिउँदमा धुलो र बर्खायाममा हिलोको सास्ती व्यहोर्दै आएकोमा सडक कालोपत्र सुरु भएपछि स्थानीयबासीमा खुसीयाली छाएको छ । प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाको पहलमा रत्नेचौर–भकुण्डे हुँदै भकिम्ली जोड्ने १८ किलोमिटर सडकको डिपिआर नै तयार पारेर बहुबर्षिय आयोजना सञ्चालन भएको हो ।  कमल खत्री\रासस