पोखराको अमीनतरामा जमिनमा धाँजा फाट्दा दुई घर विस्थापित भएका छन्। पोखरा महानगरपालिका वडा नम्बर १५ अमिनतरामा जमिनमा धाँजा फाट्दा अन्य १ घर विस्थापित हुनैपर्ने अवस्थामा रहेको छ भने थप १२ देखि १५ घर जोखिममा पर्न सक्ने सम्भावना रहेको पोखरा रामबजारका भुपेन्द्र कुँवरले जानकारी दिए।

चार/पाँच दिन पहिलेदेखि धाँजा फाट्दा स्थानीय अञ्जित परियार र ऋषि ढकालको घर चर्किएर बस्नै नहुने भएको छ। जसका कारण उनीहरु घर छाडेर नजिकैको खाली जमिनमा पाल टाँगेर बसिरहेका छन्। स्वास्थ्य समस्याका कारण अस्पतालमा उपचाररतसमेत रहेका अञ्जितको घर चर्किएर पूरै भत्किएको छ।

ऋषिको भने चर्किएर बस्न नमिल्ने भएपनि भत्काउन भने बाँकी छ। उनीहरुको घर भन्दा थोरै तलको घरपनि जोखिममा छ तर त्यहाँबाट कहाँ गएर बस्ने टुंगो नहुँदा छाडिसकेका छैनन्। विस्थापित घर भन्दा केहि तल रहेका थप घरहरु पनि जोखिममा पर्न सक्ने सम्भावना रहेको पोखरा महानगरपालिका वडा नम्बर १५ का अध्यक्ष प्रकाश पौडेलले बताए।

अहिले धाँजा फाटेको ठाउँ पुरुवा ठाउँ भएको बताइएको छ। केहि वर्षअघि जग्गा दलालले त्यो ठाउँलाई पुरेर प्लटिङ गर्दै बेचेका थिए। सेती नदीको डिलमा पर्ने सो क्षेत्रमा पहिले पोखरा महानगरपालिकाले ५० मिटरको मापदण्ड बनाएको थियो। तर महेन्द्रपुल, नयाबजार क्षेत्रमा ५ मिटर मात्र मापदण्ड बनाउने अनि हामीलाई चाहिं किन ५० मिटर बनाएको? भन्दै स्थानीय डेलिगेसन गएपछि मापदण्ड ३० मिटरमा झारिएपछि त्यहाँ बस्ती निर्माण भएको वडाध्यक्ष पौडेलले बताए।